बजेटमा ‘कनिका छर्ने’ परिपाटी अन्त्य गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको पूर्वसन्ध्यामा मन्त्री र सांसदहरूबीच पूर्व–बजेट छलफल गरेको छ ।

बुधबार रास्वपा संसदीय दलको कार्यालयमा आयोजित छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले पार्टीका सांसदहरूसँग बजेट प्राथमिकता र नीति सम्बन्धी विषयमा छलफल गरेका हुन् ।

छलफलका क्रममा आगामी बजेटलाई बढी व्यवस्थित र जनमुखी बनाउने विषयमा केन्द्रित हुँदै ‘कनिका छरे जस्तो’ स–साना योजनामा बजेट बाँड्ने परम्परा अन्त्य गर्ने प्रतिबद्धता मन्त्रीहरूले जनाएका छन् । त्यसको सट्टा ठूला र रणनीतिक महत्वका परियोजनालाई प्राथमिकता दिने विषयमा जोड दिइएको थियो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद राजीव खत्रीले बजेट निर्माणका क्रममा सांसदहरूमा देखिने मनोवैज्ञानिक दबाब र योजना छनोटको अन्योल हटाउन यो कार्यक्रम उपयोगी भएको बताए ।

उनका अनुसार अब बजेट विनियोजन गर्दा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिनेछ । विकास बजेटमा सबैको समान पहुँच सुनिश्चित गर्दै कर्णाली र सुदूरपश्चिमजस्ता दुर्गम क्षेत्रलाई विशेष प्राथमिकता दिने नीति लिइने उनले जानकारी दिए ।

खत्रीले मन्त्रालय धाउनुपर्ने झन्झटिलो अभ्यास अन्त्य गर्दै योजनाहरूलाई प्रणालीगत रूपमा छनोट र कार्यान्वयन गर्ने व्यवस्था गरिने पनि बताए । ‘अब कनिका छरे जस्तो बजेट बाँड्ने परिपाटी अन्त्य गरेर ठूला र प्राथमिकताका आधारमा केन्द्र, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुने गरी काम गर्ने कुरा भयो’ उनले भने ।

आफ्नो निर्वाचन क्षेत्र भक्तपुर–२ का योजनाबारे बोल्दै सांसद खत्रीले स्थानीय र प्रदेश तहबाट नपुग्ने संघीय आवश्यक योजनाहरू लिखित रूपमा मन्त्रालयमा पठाइने बताए । ती योजनाको छनोट र प्राथमिकता भने सम्बन्धित मन्त्रालयले निर्धारण गर्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =