सरकारले अध्यादेश ल्याएर आफ्नो गरिमालाई समेत कायम राख्न सकेनः घनश्याम भुसाल

काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएर गल्ती गरेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंको बबरमहलमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले बलियो बहुमत भएको सरकारले संसदीय प्रक्रिया छोडेर अध्यादेशको बाटो अपनाउनु उचित नभएको बताए । उनले सरकार संसदीय प्रक्रियाको राजमार्ग छोडेर अध्यादेशजस्तो चोरबाटो प्रयोग गरिरहेको भन्दै कटाक्ष गरे ।
भुसालले करिब दुई तिहाइ बहुमत भएको सरकारले चाहेको खण्डमा संसदमार्फत एक महिनाभित्रै कुनै पनि कानुन पारित गर्न सक्ने हैसियत हुँदाहुँदै अध्यादेश ल्याउनु औचित्यहीन रहेको उल्लेख गरे । ‘यतिको बलियो सरकारसँग प्रशस्त बहुमत छ, संसदबाटै कानुन बनाउन सक्ने क्षमता हुँदाहुँदै चोरबाटो हिँड्नु सुहाउँदैन,’ उनले भने ।
उनले अध्यादेशमार्फत भइरहेको राजनीतिक नियुक्तिप्रति पनि प्रश्न उठाए । विगतमा राजनीतिक नियुक्तिमा योग्यता र पारदर्शितामाथि प्रश्न उठेको स्मरण गर्दै उनले अहिले पनि त्यही गल्ती दोहोरिन नहुने बताए ।
भुसालले सरकारले अध्यादेशमार्फत नियुक्त भएका व्यक्तिहरूलाई हटाउने योजना बनाएको उल्लेख गर्दै नयाँ नियुक्तिमा क्षमता, योग्यता र पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘अयोग्य व्यक्तिहरू महत्वपूर्ण पदमा पुग्ने प्रवृत्ति दोहोरिनु हुँदैन,’ उनले भने ।
उनले सरकारलाई अध्यादेशको प्रयोगमा सावधानी अपनाउन र संसदीय प्रक्रियामार्फत अघि बढ्न आग्रह गरे ।








