विश्वविद्यालयमा प्रहरी इकाइ राख्ने सरकारको घोषणाविरुद्ध नेविसंघको चित्रकला प्रतियोगिता

काठमाडौं । विघटित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन निषेध गर्ने र प्रहरी इकाइ स्थापना गर्ने सरकारको घोषणाको विरोधमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

शिक्षा क्षेत्र शान्ति क्षेत्र हुनुपर्ने सन्देश प्रवाह गर्न तथा सरकारको उक्त निर्णय फिर्ता गराउन दबाब सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका निवर्तमान केन्द्रीय सचिव हिमाञ्चल घिमिरेले बताए ।

घिमिरेका अनुसार विश्वविद्यालयमा प्रहरी युनिट स्थापना गर्दा विद्यार्थीमा भय र त्रास उत्पन्न हुने भन्दै उक्त निर्णयको विरोधस्वरूप प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा ४५ जना चित्रकारहरूको सहभागिता रहेको छ । आयोजकका अनुसार प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

घिमिरेले सरकारले सय दिने कार्यसूचीको ८६ नम्बर बुँदामा विश्वविद्यालयहरूमा विद्यार्थी संगठन खारेज गर्ने र त्यसका लागि प्रहरी युनिट स्थापना गर्ने उल्लेख गरेको दाबी गर्दै त्यसको विरोधमा कार्यक्रम गरिएको बताए ।

उनले प्रतियोगिताको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 5 =