पृथ्वी राजमार्गको विकल्पमा त्रिशूली पारि समानान्तर सडक बनाउन राजेन्द्र पाण्डेको प्रस्ताव

काठमाडौं । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेले पृथ्वी राजमार्गमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न त्रिशूली नदी पारिबाट समानान्तर सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयमै भेटेर उक्त सडकको रणनीतिक महत्व र तत्कालीन आवश्यकताबारे जानकारी गराएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा योजना समावेश गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आग्रह गरेका छन् ।

दैनिक २० हजारभन्दा बढी सवारी साधन आवागमन गर्ने पृथ्वी राजमार्गमा पुनर्निर्माण र मर्मतपछि पनि चाप घट्न नसकेको भन्दै पाण्डेले चिन्ता व्यक्त गरेका छन् । उनले समयमै वैकल्पिक मार्ग नबनाए आगामी १० वर्षभित्र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्ने चेतावनी दिएका छन् ।

हाल राजधानीको सीतापाइलादेखि धादिङको धार्केसम्म वैकल्पिक सडक अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब धार्केबाट त्रिशूली पारिबाट नयाँ सडक सञ्जाल विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रस्तावित सडक धार्के–गल्छी–परेवाटार–आरुवासटार–बेनीदोभान हुँदै गोरखाको घ्याल्चोक (गण्डकी गाउँपालिका) र मुग्लिन पारि पूर्वी नवलपुरको गैंडाकोटसम्म जोडिनेछ । धादिङतर्फका अधिकांश क्षेत्रमा सडक ट्र्याक निर्माण भइसकेको जानकारी दिँदै उनले यसै आर्थिक वर्षभित्र डीपीआर सम्पन्न गरी निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन् ।

पाण्डेले उक्त योजनालाई राष्ट्रिय योजना आयोगमार्फत प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिन पनि मन्त्रीसँग अनुरोध गरेका छन् ।

धादिङसहित देशकै यातायात सञ्जाललाई सहज बनाउने लक्ष्यसहित प्रस्ताव गरिएको यो रणनीतिक सडक योजना पाण्डेको प्राथमिकतामा रहँदै आएको छ । उनी बागमती प्रदेशको मुख्यमन्त्री रहँदादेखि नै यस परियोजनाका लागि पहल गर्दै आएका थिए ।

उनकै पहलमा २०७८ सालमा राष्ट्रिय योजना आयोगको आयोजनामा बागमती र गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नवलपरासी (पूर्व), गोरखा, चितवन र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूसँग त्रिशूली पारिबाट समानान्तर सडक निर्माणबारे छलफल गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =