सेनालाई मन्त्रीको व्यक्तिगत सेवामा होइन, सीमा सुरक्षामा खटाउनु पर्छ: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेक हुँदै कैलाश–मानसरोवर जाने बाटो सञ्चालनको चरणमा पुर्‍याउँदा सरकार निष्क्रिय रहेको आरोप लगाएका छन् ।

मंगलबार जारी विज्ञप्तिमार्फत उनले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति समयमै कदम नचालेको भन्दै कडा प्रश्न उठाएका हुन् ।

‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो ? दार्चुलाको दुम्लिङसम्म बाटो पुर्‍याउन नसक्ने नालायक बनेर… सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाउँदा किन रोकिएन ?’ उनले प्रश्न गरेका छन् ।

उक्त मार्ग निर्माण सम्पन्न भई नाका सञ्चालनको चरणमा पुगिसक्दा पनि सरकारको प्रभावकारी भूमिका नदेखिएको उनको भनाइ छ । कूटनीतिक नोट पठाएर मात्र दायित्व पूरा नहुने भन्दै उनले बहुपक्षीय वार्ताको पहल गर्न सुझाव दिएका छन् ।

‘चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघलाई सहभागी गराएर वार्ता टोली गठन गरी सीमा जोगाउन पहल गर्नुपर्छ,’ उनले भनेका छन् ।

साम्पाङले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने माग पनि गरेका छन् । ‘सेनालाई मन्त्रीको व्यक्तिगत सेवामा होइन, सीमा सुरक्षामा खटाउनु पर्छ,’ उनले भने ।

सुकुम्बासी बस्ती हटाउने क्रममा सेना परिचालन गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले विपद् व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । बाढीले क्षति पुर्‍याएका क्षेत्रहरूमा तत्काल राहत र पुनःस्थापनाका काममा स्रोत–साधन परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

यसैबीच, उनले विदेशी ऋण लिने कार्य तत्काल रोक्न र अर्थतन्त्र सुधार गर्न सरकारलाई दबाब दिएका छन् । ‘राज्य सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले उल्लेख गरेका छन् ।

बजेट निर्माण प्रक्रियामा सबै दलका सांसदमार्फत जनताका आवश्यकताहरू समेटिनुपर्ने माग गर्दै उनले सरकारलाई पारदर्शी रूपमा काम गर्न पनि आग्रह गरेका छन् ।

‘जनतालाई सरकारले के गर्दैछ भन्ने स्पष्ट जानकारी दिनुपर्छ । पत्रकार सम्मेलन गरेर यी सबै प्रश्नको उत्तर दिनुहोस्, अन्यथा म निरन्तर प्रश्न उठाइरहनेछु,’ उनले चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =