रास्वपालाई निजी क्षेत्रले भन्यो: ‘लगानीको वातावरण तयार गर्न प्याकेज ल्याऊ’

काठमाडौं । मुलुकमा लगानीको वातावरण कमजोर रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन् ।

आइतबार रास्वपाले आयोजना गरेको निजी क्षेत्रसँगको संवाद कार्यक्रममा व्यवसायीहरूले दुई तिहाइ नजिकको सरकारप्रति उच्च अपेक्षा रहेको उल्लेख गर्दै लगानी प्रवद्र्धनका लागि विशेष प्याकेज घोषणा गर्न माग गरेका हुन् ।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले नेपालको टेलिकम पूर्वाधार कमजोर रहेको बताउँदै लगानीको पर्याप्त सम्भावना हुँदाहुँदै पनि अवरोधहरूका कारण वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउन समस्या भइरहेको बताए । उनले पूर्वाधार सुधार भए एनसेल थप लगानी गर्न तयार रहेको स्पष्ट पारे ।

उनका अनुसार नेपालमा ५जी मात्र नभई फाइबर नेटवर्क, डाटा सेन्टर, अन्तर्राष्ट्रिय तथा भू–उपग्रह कनेक्टिभिटीमा व्यापक लगानी आवश्यक छ । डिजिटल मुद्रा, क्रिप्टो, कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन लगायतका क्षेत्रमा अघि बढ्न सयौं मिलियन डलर लगानी आवश्यक पर्ने उनको भनाइ छ ।

उद्योगी वरुण चौधरीले वर्तमान सरकारसँग निजी क्षेत्रको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताहरू नेपालका जलविद्युत्, विमानस्थल, पूर्वाधार, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सकारात्मक भए पनि आवश्यक वातावरण अभाव रहेको बताए । उनले अन्तर्राष्ट्रिय छवि सुधार्दै लगानीकर्तालाई आकर्षित गर्न प्रोत्साहन प्याकेज आवश्यक रहेको धारणा राखे ।

यस्तै, उद्योगी किशोर प्रधानले आगामी बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली लागू गर्नुपर्ने माग गरे । उनले एउटै १३ प्रतिशत कर दर सबै वस्तुमा लागू गर्नु उपयुक्त नभएको उल्लेख गर्दै सूचना प्रविधिको प्रयोगबाट बहुदर प्रणाली कार्यान्वयन सम्भव भएको बताए ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मल्होत्राले रास्वपाले अघि सारेका आर्थिक लक्ष्यहरू महत्वाकांक्षी भए पनि निजी क्षेत्रसँग सहकार्य भएमा सम्भव रहेको बताए । उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन कर दर घटाएर प्रणालीलाई सरल र आकर्षक बनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की लगायतले पनि नीतिगत सुधारमार्फत लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =