दासप्रथा विरुद्धको राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनका लागि घानाद्वारा विश्वव्यापी गठबन्धनको आह्वान

एजेन्सी । घानाले दासप्रथालाई ‘मानवता विरुद्धको गम्भीर अपराध’ घोषणा गर्ने संयुक्त राष्ट्रसंघीय महासभाको प्रस्ताव प्रभावकारी रूपमा कार्यान्वयन गर्न एक बलियो विश्वव्यापी गठबन्धन निर्माणको पहल शुरु गरेको छ ।

घानाका परराष्ट्र मन्त्री सामुल ओकुदजेतो अब्लाक्वाले यस ऐतिहासिक प्रस्तावलाई पूर्ण रूपमा कार्यान्वयन गराउन अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यको आह्वान गरेका हुन् ।

कुटनीतिक नियोगका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री अब्लाक्वाले प्रस्तावको पक्षमा मतदान गर्ने र वकालत गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय मामिलामा साँचो न्याय र नैतिक स्पष्टताका लागि विश्व समुदाय घाना र अफ्रिकी महादेशको पक्षमा उभिएको बताए ।

मन्त्री अब्लाक्वाकाअनुसार घानाले अघि सारेको ‘क्षतिपूर्ति न्याय’ (रिपेरेटरी जस्टिस) सम्बन्धी यो पहल अफ्रिकाको विकासका लागि कोष जुटाउने उद्देश्यमा मात्र सिमित छैन । यसको मुख्य लक्ष्य ऐतिहासिक अन्यायको सम्बोधन, पीडितहरूको घाउमा मलम लगाउने (हीलिङ) र औपनिवेशिक कालमा चोरी भएका सांस्कृतिक तथा पुरातात्त्विक सामग्रीहरूको ससम्मान फिर्ती सुनिश्चित गर्नु रहेको उनले स्पष्ट पारे ।

घानाद्वारा प्रस्तुत र अफ्रिकी युनियनद्वारा समर्थित यो प्रस्ताव गत मार्च २५ मा संयुक्त राष्ट्रसंघीय महासभाले पारित गरेको थियो । उक्त प्रस्तावले ‘ट्रान्सएट्लान्टिक’ दास व्यापारलाई मानव इतिहासकै सबैभन्दा जघन्य अपराधको रूपमा मान्यता दिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का आवासीय प्रतिनिधि एडमन्ड मौकालाले घानाका राष्ट्रपति जोन द्रामानी महामा र अफ्रिकी युनियनको यस अग्रसरताको प्रशंसा गरे ।

उनले इतिहासका दुखद अध्यायहरूलाई सम्बोधन गर्दै विश्वलाई अगाडि बढाउन र आपसी मतभेद कम गर्न युनेस्कोले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =