त्रिभुवन विश्वविद्यालयका तीनै शीर्ष पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना शीर्ष पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

बिहीबार उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पदबाट राजीनामा दिएका हुन् । शिक्षाध्यक्ष केसीका अनुसार उनीहरूले सरकारको आह्वानअनुसार सामूहिक रूपमा राजीनामा बुझाएका हुन् ।

“उपकुलपतिसहित हामी तीनै जनाले सामूहिक राजीनामा दिएका छौँ,” केसीले भने । उनका अनुसार नयाँ सरकारलाई काम गर्न सहज वातावरण बनाउनका लागि यस्तो निर्णय गरिएको हो ।

सरकारले यसअघि राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्ने तयारी गरिरहेको सन्दर्भमा त्रिविका पदाधिकारीहरूको राजीनामा आएको हो ।

उपकुलपति प्रा. डा. अर्याल २०८२ असार २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयअनुसार नियुक्त भएका थिए । त्यसअघि उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याललाई नियुक्त गरिएको थियो ।

त्यस्तै, शिक्षाध्यक्ष प्रा. डा. केसी र रजिस्ट्रार प्रा. डा. रिजाल २०८० चैत ३० गते नियुक्त भएका थिए । उनीहरू तत्कालीन उपकुलपति बरालको सिफारिसमा तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकाल चार वर्षको हुने प्रावधान छ । तर कार्यकाल पूरा हुन बाँकी रहँदै उनीहरूले सामूहिक रूपमा पद त्याग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =