इरानसँगको युद्धमा हालसम्म २५ अर्ब डलर खर्च भएको पेन्टागनको खुलासा

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग जारी सैन्य द्वन्द्वमा हालसम्म करिब २५ अर्ब अमेरिकी डलर खर्च भइसकेको जनाएको छ ।

दुई महिनादेखि जारी यस युद्धको आर्थिक भारका बारेमा पेन्टागनका एक वरिष्ठ अधिकारीले बुधवार सार्वजनिक जानकारी दिएका हुन् । पेन्टागनका कार्यवाहक कन्ट्रोलर जुल्स हस्र्ट तृतीयले ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत उक्त रकम खर्च भएको पुष्टि गरे ।

उनकाअनुसार खर्च भएको ठूलो हिस्सा गोलाबारुदमा खर्च भएको छ । हस्र्टले द्वन्द्वको पूर्ण लागत मूल्याङ्कन गरिसकेपछि ह्वाइट हाउसमार्फत अमेरिकी कंग्रेसमा थप बजेट (सप्लिमेन्टल) को प्रश्ताव लगिने समेत जानकारी दिए ।

यसअघि सार्वजनिक भएका प्रतिवेदनहरूकाअनुसार, ट्रम्प प्रशासनले युद्ध शुरु भएको पहिलो ६ दिनमै ११.३ अर्ब डलरभन्दा बढी खर्च गरेको जानकारी मार्च ११ मा सांसदहरूलाई गराइएको थियो ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले सैन्य आक्रमण सुरु भएयता पहिलो पटक सार्वजनिक सुनुवाइमा भाग लिँदै रक्षा बजेटको बचाउ गरेका छन् । सुनुवाइका क्रममा सत्तारुढ रिपब्लिकन सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य कदमको समर्थन गरेका थिए भने विपक्षी डेमोक्र्याट सांसदहरूले युद्धको रणनीति र यसले सर्वसाधारणको जीवनस्तरमा पार्ने प्रभावका बारेमा कडा प्रश्न उठाएका थिए ।

डेमोक्र्याटहरूले तिब्र रूपमा बढ्दै गएको युद्धको लागत, गोलाबारुदको घट्दो भण्डार र अमेरिकी नागरिकको बढ्दो महँगीका बारेमा रक्षा सचिवसँग जवाफ मागेका थिए । रक्षा सचिव हेगसेथले यी आलोचनाहरूलाई ‘राजनीति प्रेरित’ भन्दै पन्छाएका थिए ।

उनले यो युद्ध कति समयसम्म चल्छ वा यसको अन्तिम लागत कति पुग्छ भन्ने प्रश्नको ठोस जवाफ दिन अस्वीकार गरे । यसैबीच, रक्षा सचिव हेगसेथले आर्थिक वर्ष २०२७ का लागि प्रश्तावित १.५ ट्रिलियन डलरको कीर्तिमानी रक्षा बजेटको प्रतिरक्षा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =