काठमाडौंका बिग्रिएका पुराना स्थाननाम पुनः स्थापनामा महानगर सक्रिय

काठमाडौं । काठमाडौं महानगरपालिकाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका टोल, बस्ती, मठमन्दिर, बहाल, वही, धारा, सत्तल र पाटीहरूको अध्ययनमार्फत प्राचीन नाम पहिचान गरी पुनः स्थापनाको काम तीव्र बनाएको छ ।

महानगरका सम्पदा तथा पर्यटन समिति संयोजक तथा काठमाडौं–८ का वडाध्यक्ष आशामान संगतले अध्ययनका क्रममा पुराना बस्ती र सम्पदासँग जोडिएका मौलिक नाम पत्ता लगाएर स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्सँग पुष्टि गर्ने कार्य जारी रहेको बताएका छन् ।

उनले नाम बिगारेर प्रयोगमा ल्याइएका नामलाई सच्याउँदै काठमाडौंलाई पुनः मौलिक पहिचान दिलाउने लक्ष्यसहित काम भइरहेको बताए । केही वडामा रहेका नामहरुमात्रै सच्याउन बाँकी रहेको भन्दै उनले केही दिनभित्रै बोर्ड लगाउने कार्य सुरु गरिने बताए ।

संगतले महानगर अहिले कार्यकालको अन्तिम वर्षको बजेट तयारीमा रहेको उल्लेख गर्दै राज्यले जुनसुकै बेला निर्वाचन घोषणा गर्न सक्ने भएकाले बाँकी काम ढिलाइ नगरी सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘काठमाडौंलाई अहिले फेरि मौलिक नामले पहिचान गराउनका लागि हामीले काम गरिरहेका छौँ । हामी बिगारेर राखेका नामलाई छिटो भन्दा छिटो सच्याएर त्यसको कार्यान्वयन गरौँ । केही ठाउँमा हामीले बोर्डहरू राख्ने काम बाँकी छ । त्यो कामलाई पनि टुंग्याउनुछ । हामी अब कार्यकालको अन्तिम वर्षको बजेट बनाउने तयारीमा हुन्छौँ । राज्यले कुनैपनि बेला चुनाव घोषणा गर्न सक्ने भएको कारण काममा अलमल वा समय थप्नेभन्दा पनि जति समय पाइएको छ त्यो समयमा काम टुंगियो भने सहज हुन्छ ।’

उनले उपलब्ध समयभित्रै सम्पदा संरक्षणसँग जोडिएका नाम पुनः स्थापनाका काम टुंग्याउनसके कार्यान्वयनमा सहजता हुने उनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =