सुकुम्बासी बस्ती हटाउने क्रममा अवरोधको आशंकामा थप दुई जना पक्राउ

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने क्रममा अवरोध गर्नसक्ने आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर रहेका छन् । उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार लामा हाल बालाजुमा बस्दै आएका छन् भने कुँवर पर्वत फलेबास–११ स्थायी घर भई काठमाडौं महानगरपालिका–११ मा बस्दै आएका छन् ।
सरकारले थापाथली, गैह्रीगाउँ र मनहरा फाँट क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका घर–टहरा हटाउने अभियान सुरु गरेको छ ।
यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार र कार्यबाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) लाई पनि पक्राउ गरिसकेको थियो ।
यससँगै बस्ती हटाउने क्रममा अवरोध गर्नसक्ने आशंकामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।








