नबिल बैंकद्वारा ग्राहक गोपनीयता उल्लङ्घनको आरोपको खण्डन, भ्रामक प्रचारप्रति आपत्ति

काठमाडौँ । नबिल बैंक लिमिटेडले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आफ्नो बैंकले ग्राहकको गोपनीयता भंग गरी कारोबार विवरण चुहावट गरेको भन्ने आरोपलाई ‘आधारहीन, भ्रामक र प्रमाणविहीन’ भन्दै कडा रूपमा खण्डन गरेको छ ।

बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा हालै फैलिएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता गलत सूचनाले बैंकिङ सेवाप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास भएको बताएको छ ।

विज्ञप्तिअनुसार केही दिनयता सामाजिक सञ्जालमा नबिल बैंकविरुद्ध नियोजित रूपमा गलत सूचना फैलाइएको दाबी गरिएको छ । साथै, एक दैनिक पत्रिकामा प्रकाशित ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू’ शीर्षक समाचारमा विभिन्न बैंकका कारोबार विवरण उल्लेख भएको विषयलाई गलत रूपमा व्याख्या गरिएको बैंकको भनाइ छ ।

बैंकले स्पष्ट पारेको छ कि ग्राहकको कुनै पनि सूचना वा कारोबार विवरण ग्राहक स्वयं, अधिकृत प्रतिनिधि वा कानूनी प्रक्रिया अन्तर्गत मात्र सम्बन्धित निकायलाई उपलब्ध गराइन्छ । अनधिकृत व्यक्ति वा माध्यमलाई कुनै विवरण नदिइएको र नदिइने पनि बैंकले स्पष्ट पारेको छ ।

त्यसैगरी, बैंकको प्रणाली (कोर बैंकिङ सिस्टम) मा सबै विवरण सुरक्षित रूपमा अभिलेखित रहने भएकाले कुनै पनि सूचना बाहिरिएको अवस्थामा त्यसको पूर्ण ट्र्याक रेकर्ड रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

नबिल बैंकले आफ्नो चार दशकभन्दा लामो विश्वसनीय इतिहास, नियामकीय निर्देशन र सूचना सुरक्षा नीतिहरू पालना गर्दै आएको उल्लेख गर्दै ग्राहक गोपनीयता बैंकिङ सेवाको आधारभूत सिद्धान्त भएको जनाएको छ ।

बैंकले यस्ता भ्रामक प्रचारमा संलग्न व्यक्ति तथा निकायलाई तथ्यहीन सूचना नफैलाउन आग्रह गर्दै आवश्यक परे विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानूनी कारबाही अघि बढाइने चेतावनी पनि दिएको छ।

ग्राहक तथा सर्वसाधारणलाई यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गर्दै बैंकले आगामी दिनमा पनि उच्च सुरक्षासहित विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =