प्रधानमन्त्री बालेनलाई सुदन किरातीको सन्देश: ‘यो देश हाम्रो पनि हो’

काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले सुकुम्बासी समस्या समाधानका लागि बल प्रयोगभन्दा दीर्घकालीन दृष्टिकोण अपनाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई मेन्सन गर्दै उनले सुकुम्बासी बस्तीमा डोजर चलाउन हतार नगर्न आग्रह गरेका हुन् । ‘सरकार! सुकुम्बासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गरियोस्,’ उनले लेखेका छन् ।

काठमाडौँको थापाथली लगायतका सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति असन्तुष्टि जनाउँदै किरातीले संवाद, पर्याप्त समय र वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन खोजिएको भन्दै प्रश्न उठाएका छन् । ‘सुकुम्बासीमाथि डोजर चलाउनु किन हतार? संवाद, समय र वैकल्पिक व्यवस्था गर्नेबारे किन सोचिएन ?’ उनले प्रश्न गरेका छन् ।

किरातीले जनभावनाअनुसार काम गर्न प्रधानमन्त्रीलाई सचेत गराउँदै विगतका उदाहरणसमेत प्रस्तुत गरेका छन् । उनका अनुसार जनमत विपरीत निर्णय गर्दा अघिल्ला सरकारहरूले अस्थिरता र आलोचना व्यहोरेका थिए ।

‘गिरिजा सरकार ३६ सिटे र ७२ सिटे हुँदै मध्यावधि निर्वाचनसम्म पुग्यो, प्रचण्ड सरकार कटुवाल काण्डमा अल्झियो, झण्डै दुई तिहाइको ओली सरकार गुठी प्रकरणले जनविश्वास गुमायो,’ उनले उल्लेख गर्दै वर्तमान नेतृत्वप्रति पनि प्रश्न उठ्न थालेको बताएका छन् । ‘यो देश हाम्रो पनि हो,’ उनले थपेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =