बादलले सुनाए ओलीको सन्देश- पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रण गरौँ

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको चुनौतीहरूको सामना गरेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

बुधवार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले पठाएको शुभकामना सन्देशमा ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

स्वास्थ्यले साथ नदिएपछि ओलीले पठाएको सो शुभकामना सन्देश पढेर सुनाउँदै उपाध्यक्ष रामबहादुर थापा बादलले निर्वाचन पछि पार्टीले व्यहोर्नुपरेको असफलताका विषयमा गम्भीर समीक्षा गर्दै फेरी पार्टीलाई सफलताको उचाइमा पुर्याउनका लागि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए ।

ओलीले सन्देशमा एमालेले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य नछाडेको र त्यसलाई पूरा गर्ने सङ्कल्प अनुसार नै अघि बढ्ने बताएको पनि उपाध्यक्ष बादलले बताए ।

ओलीको सन्देश पढेर सुनाउँदै बादलले भने ‘इतिहासदेखि वर्तमानसम्म गौरवपूर्ण भूमिका र उपलब्धिको हिस्सेदार रहेको नेकपा एमालेका लागि पछिल्लो पटक असामान्य अवस्थामा भएको निर्वाचन परिणाम प्रतिकूल रहन गयो । देशभक्त शक्तिहरूका लागि हाम्रो इतिहास यस्ता प्रतिकूल थिए । र, नेकपा एमाले त्यसलाई झेलेर यहाँसम्म आएको हो । आज हामीले व्यहोर्नु परेको असफलता विषयमा समग्र पार्टी भित्र गम्भीर समीक्षा गर्दै फेरी यस आन्दोलनलाई सफलताको उचाइमा पुर्याउनु पर्नेछ । यसका लागि हामी सबै एकताबद्ध हुन जरुरी छ । हाम्रो गौरवशाली र ऐतिहासिक पार्टीको जीवनमा चुनौतीहरू पटक पटक आए । तर यस पार्टीले आफ्नो उद्देश्यको झण्डालाई झुक्न दिएन । आफ्नो गन्तव्य बदलिएन । र, समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प कहिल्यै छोडेन । आजका समयका चुनौतीहरूलाई हामीले पार्टीलाई एकताबद्ध बनाएर सामना गर्नुपर्नेछ । त्यसका लागि हामी सबैले प्रण गरौँ ।’

उपाध्यक्ष बादलले पार्टी आन्दोलनलाई सफलतामा पुर्याउनका लागि सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =