नयाँ संघीय भवन निर्माणमा ढिलाइको मुख्य दोषी ठेकेदार: महानिर्देशक बोहरा

काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभागले निर्माण व्यवसायीको कमजोरीको कारण सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको निर्माणमा ढिलाइ भएको स्पष्टीकरण दिएको छ ।
मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै विभागका महानिर्देशक रवीन्द्र बोहराले यस्तो स्पष्टीकरण दिएका हुन् ।
उनले नयाँ संसद् भवन निर्माण कार्यमा ढिलाइ हुनुमा विभागको पनि आंशिक कमजोरी रहेको स्वीकार गरे । सरकारको डिजाइन र ठेक्का प्रणालीमा भएको कमजोरीको कारण पनि पनि विकास निर्माणका काम प्रभावित हुने गरेको उनको जिकिर छ ।
उनले भने ‘संघीय संसद् भवन निर्माणमा ढिलाइ हुनुको मुख्य कारण चाहिँ निर्माण व्यवसायीको कमजोरीको हो । सेयरको समस्यादेखि कामदार व्यवस्थापन लगायत कुरा गर्दा काममा ढिलाइ हुनुको मेजर समस्या रहेको छ । त्यसमा समग्रमा हेर्दाखेरि ३० प्रतिशत हामी जिम्मेवार छौँ । हाम्रो डिजाइन र ठेक्का प्रणालीमा समस्या रहेको कारण पनि विकास निर्माणका कार्यमा ढिलाइ भइरहेको छ । मैले विगतको विभागको नेतृत्व लिएर पनि बोलिरहेको छु । विगतमा भएका कमजोरीहरू हाम्रो नेतृत्व आएपछि हामीले दोहोर्याएका छैनौँ । त्यसबाहेक बाहिरको प्राकृतिक समस्याको कारण पनि निर्माण कार्यमा ढिलाइ भएको हो । कोभिडदेखि अन्य समस्याहरू पनि त्यसमा पर्न सक्लान् ।’
नयाँ संसद् भवनको निर्माण कार्य अन्तिम चरण पुगेको उल्लेख गर्दै उनले आउँदो असारसम्म निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको बताए ।








