सुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा (तस्बिरहरू)

ललितपुर। करिब एक हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा आज (वैशाख ८) देखि सुरु भएको छ। पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यो जात्रा वैशाख  शुक्ल  प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

पाटनको पुलचोकबाट सुरु हुने यस जात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी सहरका विभिन्न ठाउँमा घुमाइन्छ। पुलचोकबाट मंगलबजार, सुन्धारा, लगनखेल, कुमारी पाटी हुँदै जावलाखेल पुराएपछि भोटो देखाइन्छ। मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तु जडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ । भोटो देखाइसकेपछि यो जात्रा सम्पन्न हुन्छ।

विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिपदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्ति पश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगर बासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मच्छिन्द्रनाथको रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ।

मच्छिन्द्रनाथलाई हिन्दु धर्मावलम्बीले ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्म पाणि’ (पञ्च बुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =