बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने

काठमाडौँ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य क्षेत्रमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने भएको छ ।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै गुठीले सो जानकारी दिएको हो ।
गुठीका प्रबन्धक मिथुन चाङ्बा भोटेका अनुसार कार्यक्रम बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामना गर्दै पूजा आराधना गरी सुरु हुनेछ । उनले पूजा सम्पन्न भइसकेपछि ९ बजेदेखि ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्त्विक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनमा राखिने जानकारी दिए ।
यही वैशाख १८ गते पर्ने जयन्तीको दिन उक्त अवसरमा काश्य बुद्धसँग सम्बन्धित अस्तु तथा स्वयम्भूनाथ स्तूपसँग जोडिएका धार्मिक सामग्रीसमेत गुम्बामा सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिने प्रबन्धक भोटेले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेदेखि स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थितिमा औपचारिक कार्यक्रम गरिनेछ । कार्यक्रमको उद्घाटन शान्तिको प्रतीक परेवाको जोडी उडाएर तथा दीप प्रज्वलन गरी गरिने उनले जानकारी दिए ।
उनले भने ‘यस वर्षको बुद्ध जयन्ती वैशाखको १८ गते परेको छ । बौद्ध घ्याङ गुठीको आफ्नै बौद्ध घ्याङ गुम्बा छ । जयन्तीको दिन बिहान ७ बजेदेखि हामी आफ्नै गुठीमा विश्व शान्तिको नाममा पूजा गर्छौँ । बिहान ९ बजेदेखि हामी ऐतिहासिक सिद्धार्थ गौतम बुद्धको पौराणिक र पुरातात्त्विक मुर्तिमा ८४ लाख देवी देवताले पनि बौद्ध शास्त्र अनुसारको ८४ लाख देवी देवताले चैँ समुद्घाटन गर्नु भएको काश्य बुद्धको आस्तु र स्वयम्भूको आस्तोलाई दर्शनादीहरुको दर्शनको लागि बौद्ध तथा मेलमजी घ्याङगुठीको गुम्बामा प्रदर्शनमा राखिनेछ । त्यसपछि दिउँसो १ बजेदेखि हामी स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थितिमा औपचारिक कार्यक्रम सुरु गर्छौँ । कार्यक्रमको उद्घाटन शान्तीका प्रतीक परेवाको जोडिलाई आकाशतिर उडाएर दीप प्रज्वलन गरी उद्घाटन गर्छौँ । कार्यक्रम समापन भइसकेपछि बौद्ध मन्दिर परिसरमा ऐतिहासिक बुद्धको मूर्तिलाई विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र विदेशी प्रतिनिधिहरूको उपस्थितिमा दाया तर्फबाट परिक्रमा गरेर एकचोटी परिक्रम गराएर कार्यक्रम समापन गर्छौँ ।’
कार्यक्रम समापनपछि बौद्ध मन्दिर परिसरमा ऐतिहासिक बुद्ध मूर्तिको विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा विदेशी पाहुनाहरूको सहभागितामा परिक्रमा गराई कार्यक्रम समापन गरिने गुठीले जनाएको छ ।








