काठमाडौँमा ‘वाटर एटिएम’ सेवा: पैदलयात्रुलाई अब ठाउँ-ठाउँमा निःशुल्क पिउने पानी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पैदलयात्रुहरूको सुविधालाई मध्यनजर गर्दै शहरका विभिन्न स्थानमा ‘वाटर एटिएम’ सेवाको शुभारम्भ गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आज एक कार्यक्रमकाबीच औपचारिक रूपमा उक्त सेवाको उद्घाटन गरेकी हुन् ।
शनिवारदेखि उक्त मेसिनबाट निःशुल्क पानी उपलब्ध हुने महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिकाको करिब २ करोड ६० लाख रुपैयाँको लागतमा ८ वटा वाटर एटिएम बुथ निर्माण गरिएका छन् । स्थानीय मौलिक शैलीमा निर्माण गरिएका यी बुथहरूमा ३ हजार लिटर पानी भण्डारणको क्षमता छ ।
महानगरले हाल खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कुल बाहिर, वडा नम्बर १७ को लिङ्क रोड ढल्को चोक, वडा नम्बर ५ हाँडीगाउँ, वडा नम्बर २६ परिसर र वडा नम्बर ३१ को परिसरसहित ८ स्थानमा वाटर एटिएम जडान गरिएको जनाएको छ ।
महानगरको यस कदमप्रति पैदल यात्रुहरूले निकै खुसी व्यक्त गरेका छन् । सडकमा हिँड्दा प्यास मेटाउन सहज हुने र यस्तो सुविधाले यात्रुलाई ठुलो राहत मिल्ने भन्दै उनीहरूले महानगरको प्रशंसा गरेका छन् ।
एक यात्रुले यस कामको खुलेर प्रशंसा गर्दै भने, ‘महानगरपालिकाले पैदलयात्रुहरूको लागि गरेको यो काम अत्यन्तै सराहनीय छ । शहरका ठाउँ–ठाउँमा यसरी नै वाटर एटिएम निर्माण गरी पैदलयात्रीका लागि अन्य सुविधासमेत उपलब्ध गराउन सकियो भने यो धेरै राम्रो हुनेछ । काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा यस्तो सुविधा विस्तार हुनुपर्छ ।’
महानगरपालिकाले सहरवासी र यात्रुहरूलाई गुणस्तरीय पिउने पानी सहजताका साथ उपलब्ध गराउने उद्देश्यले यो योजना अघि सारेको हो । महानगरले आगामी दिनमा यस्ता वाटर एटिएम बुथहरूको संख्या थप विस्तार गर्दै लैजाने योजना राखेको छ ।








