प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उल्लेख्य वृद्धि भएको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ ।

महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेकाले उद्योग सञ्चालनमा गम्भीर दबाब सिर्जना गरेको बताएको छ ।

महासंघले अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि मूल्यवृद्धिको प्रमुख कारण मानेको छ । विशेषगरी इरान–इजरायल तनाव तथा इरान–अमेरिका सम्बन्ध तनावका कारण विश्व बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा अवरोध उत्पन्न हुँदा कच्चा पदार्थको मूल्य र उपलब्धता प्रभावित भएको बताइएको छ ।

पानी उत्पादनमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार तथा जारको क्यापजस्ता सामग्री महँगिँदा समग्र उत्पादन लागत उच्च भएको महासंघले जनाएको छ । यससँगै पेट्रोलियम पदार्थ, विशेष गरी डिजेलको मूल्यवृद्धिले ढुवानी खर्च पनि उल्लेख्य रूपमा बढाएको छ, जसको प्रत्यक्ष असर अन्तिम उपभोक्तासम्म पर्ने देखिएको छ ।

हाल नेपालभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा करिब १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीका अनुसार बढ्दो लागतका कारण हाल कायम मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको र यो मूल्यवृद्धि नाफा कमाउने उद्देश्यले नभई बाध्यात्मक परिस्थिति भएको उल्लेख गरिएको छ ।

महासंघले सबै सदस्य उद्योगहरूलाई कच्चा पदार्थ र सञ्चालन लागतमा भएको वृद्धिका आधारमा मूल्य समायोजन गरी वितरण गर्न आग्रह गरेको छ । साथै, सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कच्चा पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न कूटनीतिक पहल गर्न र ढुवानी लागत नियन्त्रणका उपाय अपनाउन माग गरिएको छ ।

महासंघले उपभोक्ता, वितरक तथा सरोकारवालाहरूलाई उद्योग संरक्षण, रोजगारीको सुरक्षा र सेवाको निरन्तरताका लागि मूल्य समायोजनमा सहयोग गर्न अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =