अन्नपूर्ण आधार शिविरः प्रकृति र आत्मचिनारीको संगम (तस्बिरहरू)

काठमाडौं । विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्येको एक अन्नपूर्ण आधार शिविर यतिबेला पदयात्रीहरूको रोजाइमा परेको छ ।

समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटरको उचाइमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका लागि प्रख्यात छ । यात्राको सुरुवात र सौन्दर्य यात्राको प्रवेशद्वार पोखराको फेवातालको मनमोहक रात्रिकालीन दृश्यबाट सुरु हुने यो यात्रा, पदयात्रीहरूका लागि एउटा सपनाको यात्रा जस्तै बन्दछ ।

उकाली–ओराली, ढुङ्गे खुड्किलाहरू, र कतै गहिरा खोँचहरू पार गर्दै जाँदा देखिने कलकल बग्ने झरना र नीलो कञ्चन पानीका खोलाहरूले यात्राको थकान मेटाइदिन्छन् ।

हिमालको काखमा रमाउँदा अन्नपूर्ण र माछापुच्छ्रे जस्ता विश्व प्रसिद्ध हिमालहरूलाई आँखा अगाडि देख्दा पदयात्रीहरू मन्त्रमुग्ध हुन्छन् । ४,०६० मिटर उचाइमा रहेको ‘कागभुसुन्डी डाँडा’ जस्ता बिन्दुहरूबाट देखिने दृश्यहरू अतुलनीय छन् ।

हिउँले ढाकिएका चुचुराहरू, बादलले छोपिएका पहाडहरू र चिसो सिरेटोका बीच हिउँका मानव बनाएर रमाउने पदयात्रीहरूको संख्या पनि उल्लेख्य छ ।

वनस्पति र वन्यजन्तुको सान्निध्य यस क्षेत्रमा पाइने अल्पाइन फूलहरू, लेकाली रुखहरू र ढुङ्गाका कापमा उम्रिएका लेउहरूले यस क्षेत्रको जैविक विविधतालाई झल्काउँछन् । हिउँमा रमाउने स्थानीय भोटे कुकुरहरू र रंगीचंगी लुङ्ता (प्रार्थना झण्डाहरू) ले यस पदयात्रालाई सांस्कृतिक र प्राकृतिक रूपमा थप समृद्ध बनाएका छन् ।

पदयात्रीहरूको उत्साह पदयात्राका क्रममा भेटिने क्याम्पिङ साइटहरूमा रङ्गीबिरङ्गी टेन्टहरूमा बसेर रात बिताउनुको छुट्टै आनन्द छ । अग्ला चट्टानी पहाडहरू र छाँगाहरूबाट झरेका झरनाहरूले यो क्षेत्रलाई पृथ्वीको एउटा सानो स्वर्गको रूपमा चिनाएका छन् ।

अन्नपूर्ण पदयात्रा केवल एक हिँडाइ मात्र नभएर प्रकृतिको नजिक पुग्ने र आफैँलाई चिन्न पाउने एक महत्त्वपूर्ण अवसर हो भन्ने कुरा यहाँ पुग्ने जो कोहीले महशुस गर्दछन् ।

अन्नपूर्ण बेसक्याम्प मोबाइल फोटोग्राफीः सञ्जय क्षेत्री/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =