प्रतिनिधि सभा नियमावलीमा समिति गठन प्रक्रिया र कार्यक्षेत्रका विषय टुंग्याइयो

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाका समिति गठन प्रक्रिया र त्यसको कार्यक्षेत्रका विषयलाई टुंगोमा पुर्याएको छ ।
बुधवार सिंहदरबारमा बसेको बैठकले समितिहरू गठन प्रक्रिया र कार्यक्षेत्र सम्बन्धी विषयलाई टुंगोमा पुर्याएको समितिका संयोजक गणेश पराजुलीले जानकारी दिएका हुन् ।
उनकाअनुसार समितिको बैठकमा नियमावलीको परिच्छेद २१ अन्तर्गत प्रतिनिधि सभाका विभिन्न समितिहरूको गठन विधि, अधिकार क्षेत्र तथा जिम्मेवारीबारे व्यापक छलफल भएको थियो ।
बैठकमा व्यवस्थापिका र कार्यपालिकाबीचको भुमिकालाई स्पष्ट बनाउने, पारस्परिक उत्तरदायित्व सुदृढ गर्ने तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । अधिकांश विषयमा सहमति नजिक पुगेको उनले बताए । ‘आजको बैठकमा परिच्छेद २१ अर्थात प्रतिनिधिसभाका समितिहरु गठन प्रक्रिया र त्यसका कार्यक्षेत्रका विषयमा व्यापक छलफल भयो । यसमा धेरै विषयहरु टुंग्याएर व्यवस्थापिका र कार्यपालिकाबीचको जिम्मेवारी र एकअर्कोलाई जिम्मेवार बनाउने प्रक्रियाका विषयमा गहन छलफल भए । भोलीको बैठक विहान ९ बजे बस्नेगरि सकिएको छ’ उनले भने ।
उनकाअनुसार बैठक बिहीवार ९ बजे फेरि बस्नेछ । समितिले कार्य प्रारम्भ भएको १५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिनिधि सभाको गत चैत्र २३ गते बसेको बैठकले नयाँ नियमावली तर्जुमा गर्नका लागि पराजुली संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो ।
समितिका सदस्यहरुमा डा.ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, धु्रवराज राई, निषा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, डा. सुलभ खरेल रहेका छन् ।








