सरकारले प्रयोग गरेको ‘बफर स्टेट’ शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले प्रयोग गरेको ‘बफर स्टेट’ शब्दप्रति आपत्ति जनाएका छन् ।
सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ दस्ताबेजको ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकअन्तर्गत ‘नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजमा रूपान्तरण गर्ने’ उल्लेख गरिएको छ । यसप्रति प्रतिक्रिया दिँदै ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग हुने प्रत्येक शब्दको विशेष अर्थ हुने भएकाले यस्ता शब्द चयनमा सजग हुनुपर्ने बताएका हुन् ।
ज्ञवालीले नेपालले आफ्नो भूराजनीतिक अवस्थालाई कहिल्यै ‘बफर स्टेट’ भनेर परिभाषित नगरेको र छिमेकी राष्ट्रहरूले समेत यस्तो शब्द प्रयोग नगरेको उल्लेख गरेका छन् । साथै, छिमेकी मुलुकहरूबीच गहिरो द्वन्द्व वा दुश्मनीको अवस्था नरहेको सन्दर्भमा यस्तो शब्द प्रयोग प्रासंगिक नदेखिएको उनको भनाइ छ ।
उनले ‘समदुरी’ र ‘समनिकटता’ जस्ता अवधारणाहरू पनि सन्दर्भअनुसार फरक रूपमा प्रयोग गर्नुपर्ने बताए । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्ध नै मुख्य प्राथमिकता हुनुपर्ने उनको जोड छ ।
सरकारी दस्ताबेजहरूमा प्रयोग हुने भाषाप्रति विशेष संवेदनशीलता आवश्यक रहेको उल्लेख गर्दै उनले मुद्दा, साझेदारी र सन्दर्भअनुसार अन्तर्राष्ट्रिय सम्बन्धका आयाम परिवर्तनशील हुने धारणा व्यक्त गरेका छन् ।









