एमाले–काँग्रेस सांसदको माग: प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको आयस्रोत तत्काल सार्वजनिक गरियोस्

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरूले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको आयस्रोत तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद रञ्जित कर्णले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको आयस्रोतमाथि प्रश्न उठाउँदै त्यसको तत्काल जवाफ दिनुपर्ने बताए । उनले सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्तिको आयस्रोत भने मात्रै वर्तमान सरकारले सुशासनको क्षेत्रमा केही काम गर्न सक्ने कुराको विश्वास आम जनतालाई हुने धारणा समेत राखे ।

उनले भने ‘यो सरकारका मन्त्रीजीहरूले जुन अहिले सम्पत्तिहरू जुन सार्वजनिक गर्नुभएको छ । त्यसको आय स्रोत के हो ? त्यो जनतालाई वैधानिक हिसाबले क्लियरकट हिसाबले जानकारी गराउन जरुरी छ । तब मात्रै उहाँहरूले जुन सम्पत्ति शुद्धीकरण थाल्नुभएको छ । त्यो अभियानमा बल्ल हाम्रो विश्वास हुन सक्दछ । यो मेरो मात्रै कुरा होइन, सम्पूर्ण जनताले सोधिरहेको अवस्था छ । होला मलाई उहाँहरूको सम्पत्तिमाथि कुनै प्रतिशोध छैन । टयाक्स फियर मनी नै होला । जनताले त्यो आयको स्रोत खोजिरहेको छ । नेपाली काँग्रेसले त २०४६ सालदेखि अहिलेसम्मका सम्पूर्ण राजनेताहरू, नेताहरू, मन्त्री भइसकेकाहरू, कर्मचारी भइसकेकाहरू पत्रकारहरु वा व्यवसायीहरूको सम्पूर्णको सम्पत्ति सुद्धिकरण हुनै पर्दछ ।’

सांसद कर्णले आफ्नो पार्टीले २०४६ सालयता सार्वजनिक पदधारणा गरेका नेता, कर्मचारी, व्यवसायीलगायतका सबैको सम्पत्ति छानबिन गर्न पनि सरकारलाई दबाब दिए ।

एमाले सांसद सोमनाथ पोर्तेलले सरकारको आवाज फेसबुक र पत्रपत्रिकाबाट मात्रै सुन्नुपर्ने विडम्बनापूर्ण अवस्था आएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । वर्तमान सरकारले संसदमा समेत नबोलेको उल्लेख गर्दै उनले डुंगो बोल्ला तर सरकारका मन्त्रीहरू नबोलेको कटाक्ष गरे ।

सांसद पोर्तेलले भने ‘सदन हामीले करिब हप्ता दिन चलायौ होला । ढुंगो बोल्ला तर हाम्रा मन्त्रीजीहरू बोल्नु भएन, सरकार बोलेन । बरु ढुंगो बोल्थ्यो होला । सरकारको आवाज सुनिएन । सरकार सदनमा आएर बोल्दैन भनेपछि सरकार आश्वासन त पत्रिका र फेसबुकको पेजमा पढनुपर्ने भयो । अव सरकारले के आश्वासन दिएको छ र हामीले त्यसको कार्यान्वयनको अवस्था हेर्ने हो भन्ने कुराको प्रश्न जन्मिएको छ । तिमीले के आश्वासन दिएका छौ जनतालाई भन्ने कुरा चाहिँ हामीले समितिमा बोलाएर मन्त्रीजीहरूसँग छलफल गर्नुपर्छ होला भन्ने मलाई लागेको छ । सरकार गठन भएको १७ दिन बित्दा संसदको निर्माण गरेको कानुनको ठाडो उल्लङ्घन हुन थालेको हामीले सुन्छौँ ।’

सांसद पोर्तेलले सरकारले संविधान र कानुनको ठाडो उलङ्घन गरिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =