पार्टी सदस्यता कुनै नेताको भाषणबाट खारेज हुन सक्दैन: पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै पनि नेताले आवेग वा भाषणमार्फत खारेज गर्न नसक्ने स्पष्ट पारेको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी सदस्यतासम्बन्धी समूहको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा उनले निर्दलीय पञ्चायती व्यवस्थाका बेला ज्यान जोखिममा राखेर लिएको सदस्यता कुनै नेताको लहड वा आवेगका आधारमा खारेज गर्न नसकिने बताएका छन् । “त्यस्तो सदस्यता भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ ।

संस्थापनइतर समूहका अनुसार नेपाली कांग्रेसको सदस्यता कुनै व्यक्तिको हार–जितसँग मात्र सम्बन्धित नभई राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको आन्दोलनसँग जोडिएको ऐतिहासिक निस्सा हो । साथै, यो पार्टीका योगदानकर्ताहरू र शहीद परिवारप्रतिको सम्मानको प्रतीकसमेत रहेको उनीहरूको जिकिर छ ।

खड्काले क्रियाशील सदस्यता पार्टीसँगको आबद्धताको प्रमाणपत्र मात्र नभई यसको ऐतिहासिक निरन्तरतासँग जोडिएको दस्तावेज भएको उल्लेख गरेका छन् । उनले महाधिवेशनबाट वैधानिक रूपमा व्यवस्था नभएसम्म आम सदस्यको सदस्यता कसैले खारेज गर्न नसक्ने स्पष्ट पारे ।

पार्टीभित्र देखिएका मतभेद र उतारचढावका बाबजुद विधानअनुसार नै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रियालाई अघि बढाउँदै १५औं महाधिवेशन सम्पन्न गरिने उनको भनाइ छ ।

गगन थापा पक्षले नियमित महाधिवेशनको माग गर्दै विशेष महाधिवेशन आयोजना गरेको थियो, जसले नयाँ नेतृत्व चयन गरेको थियो । यसैबीच सभापति थापाले आगामी असोज १६–१९ मा १५औं महाधिवेशन गर्ने नयाँ कार्यतालिका घोषणा गरेका छन्, जसप्रति संस्थापनइतर समूहले असहमति जनाएको छ ।

उता, पार्टीको केन्द्रीय अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेको विषयमा कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =