सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि आर्जन गरेको सम्पत्ति कुनै पाप नभएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विशेषगरी सुन, चाँदी तथा गरगहनासम्बन्धी विवरणलाई लिएर व्यापक चर्चा र आलोचना सुरु भएको छ ।
यही क्रममा आलोचना बढेपछि गृहमन्त्री गुरुङले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत प्रतिक्रिया जनाएका हुन् । उनले गरिबीलाई जन्मसँग जोड्दै जीवनको अन्त्यसम्म गरिब रहनुलाई कमजोरीको रूपमा व्याख्या गरेका छन् ।
उनले लेखेका छन्,‘तिमी जन्मिँदा गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो ।’
गुरुङले थप स्पष्ट पार्दै सरकारमा प्रवेश गर्नुअघि इमान्दारीपूर्वक कमाइएको सम्पत्ति गलत नहुने, तर पदमा पुगेपछि भ्रष्टाचारमार्फत सम्पत्ति आर्जन गर्नु भने गलत हुने बताएका छन् । ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो’ उनले भनेका छन्र ।








