परराष्ट्र मन्त्री शिशिर खनालको सम्पत्तिः पैतृक जग्गादेखि २२ तोला सुन, १६ कम्पनीमा सेयर लगानी

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले पैतृक सम्पत्तिदेखि बैंक मौज्दात, सेयर तथा ऋणसमेत खुलाएका छन् ।

विवरणअनुसार काठमाडौंको टोखामा ६ आना जग्गामा बनेको घर रहेको छ, जुन पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ । उक्त जग्गा बुवा सूर्यभक्त खनालको नाममा रहेको जनाइएको छ ।

त्यस्तै, तनहुँको भानु–७ मा १५ रोपनी, पूर्वी नवलपरासीको देवचुली–२ मा १३ रोपनी र नेपालगञ्ज–२ मा ३ कट्ठा जग्गा रहेको उल्लेख छ । यी सबै जग्गा पैतृक सम्पत्ति भएको र बुवाको नाममा रहेको विवरणमा जनाइएको छ ।

मन्त्री खनालसँग २२ तोला सुन, २५ तोला चाँदी तथा १० लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरिएको छ ।

बैंक खातातर्फ विभिन्न बैंकमा गरी रकम मौज्दात रहेको विवरणमा जनाइएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७ रुपैयाँ, नबिल बैंकमा २ लाख १ हजार ४०५ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१ रुपैयाँ, एनआईसी एसियामा ४ लाख ५१ हजार २९० रुपैयाँ, ग्लोबल आईएमई बैंकमा ४३ हजार ८०३ रुपैयाँ तथा नबिल बैंककै अर्को खातामा ४ हजार ८८२ रुपैयाँ रहेको उल्लेख छ ।

त्यसैगरी, उनले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको पनि विवरणमा देखिएको छ । पिक एण्ड ड्रप नेपालमा ३३ कित्ता, रिग्पा इन्टरनेशनल प्राइभेट लिमिटेडमा १०० कित्ता, ताजा एग्रो फार्ममा १६ प्रतिशत स्वामित्व, बिडब्लुपी माइक्रो फाइनान्समा २५६० कित्ता, ओम मेघाश्री फार्मास्युटिकल्समा ५००० कित्ता, ग्लोबल आईएमई बैंकमा १०९ कित्ता र नबिल बैंकमा ५० कित्ता सेयर रहेको उल्लेख छ। यसबाहेक थप १६ वटा विभिन्न कम्पनीमा पनि सेयर लगानी रहेको जनाइएको छ ।

उनले विभिन्न मितिमा २० लाख, ५५ लाख र २५ लाख रुपैयाँ गरी बैंक तथा व्यक्तिगत माध्यमबाट ऋण लिएको र हालसम्म भुक्तानी गर्न बाँकी रहेको विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =