जनताको अधिकार खोसिए प्रतिवाद गर्छाैँ- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले जनताका अधिकार खोसिए सह्य नहुने चेतावनी दिएका हुन् ।

संयोजक दाहालले वर्तमान सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको) ले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने बताए । तर संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पुर्याउने वा जनताको हक अधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने स्पष्ट पारे । विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उनले सतर्क रहन आग्रह गरे ।

संविधान संशोधनको चर्चाबारे बोल्दै पूर्वप्रधानमन्त्री दाहालले आफूहरू संविधान संशोधनको विरोधी नभएको तर संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न र संघीयतालाई बलियो बनाउनका लागि हुनुपर्ने बताए । हालै सम्पन्न निर्वाचनलाई ‘असामान्य र असाधारण’ संज्ञा दिँदै उनले निर्वाचन परिणामबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको बताए ।

पार्टी एकीकरणको प्रक्रियालाई केही दिनभित्रै तल्लो तहसम्म टुङ्ग्याउने जानकारी दिँदै दाहालले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याए । जनवर्गीय सङ्गठन र विभागहरूको एकीकरणपछि देशभर एउटै बुझाइका साथ वैचारिक र राजनीतिक प्रशिक्षण चलाइने उनको भनाइ छ ।

उनले भने ‘हामीले यो पटक एकीकरणको प्रक्रियालाई पनि केही दिनभित्र देशभरि सबै प्रदेशमा पनि जिल्ला र स्थानीय तहसम्म पनि सम्पन्न गर्ने, अनि त्यसपछि जनवर्गीय सङ्गठन र विभागहरूको पनि एकीकरणको प्रक्रियालाई औपचारिक ढङ्गले टुङ्ग्याउने, त्यसपछि हामी क्रमशः तलबाट सम्मेलनहरू हुँदै महाधिवेशनसम्म पुग्ने । किनकि हामीले एकीकरण प्रक्रियालाई अगाडि बढाउँदै गर्दा हामीले ६ महिनाभित्र महाधिवेशन गर्ने भन्ने एउटा प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ र त्यसैअनुसार हामी यो बैठकमा पनि हामी महाधिवेशनको मिति र महाधिवेशनको प्रक्रियाबारे पनि हामी छलफल गर्दैछौँ र सबै जनवर्गीय सङ्गठनको एकताको कुरा पनि हामी टुङ्ग्याउँदै छौँ । मैले अहिले धेरै भन्नु छैन ।

हामीले सोचेको भन्दा अलि फरक ढङ्गले निर्वाचन परिणाम त आएको छ, त्यसको समग्र समीक्षामा पनि हामी लागेकै छौँ । तर हाम्रो लागि अहिले कमरेड माधव कुमार नेपाल, म हिजो आन्दोलनको बेलामा, निरङ्कुश राजतन्त्रका विरुद्ध आन्दोलनको बेलामा अनि संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने प्रक्रियामा हामीले सँगै सङ्घर्ष र धेरै मेहनत गरेर देशलाई एउटा युगिन परिवर्तनतिर लान हामी सफल भएकै हो । मैले विगतमा पनि भन्ने गर्थेँ, यो संसदीय निर्वाचन, प्रतिनिधिसभाको निर्वाचनमा कहिले कुनै पार्टीले धेरै भोट ल्याउने, कहिले कुनै पार्टीले धेरै भोट ल्याउने त हुने गरेकै छ । तपाईँ,हामी शान्ति प्रक्रियामै आएपछि पनि ६४ मा त्यतिबेलाको नेकपा (माओवादी) ले एक्लैले बहुमत ल्याएको थियो, त्यो ठूलो कुरा भएको थियो ।

पछि ७४ मा हामीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्ने बनाउँदा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याए जस्तै दुई तिहाइको नजिकै पुग्या थियौँ हामी पनि अस्ति भर्खरै त हो । ७४ मा, ७४ को निर्वाचनमा हामी दुई तिहाइको नजिकै पुग्या थियौँ वामपन्थी कम्युनिस्टहरु। र अनि त्यसपछि कहिले नेपाली काँग्रेस ठूलो, कहिले अर्को ठुलो हुने पनि ग¥यो । तर हामीले के भन्ने ग¥यौँ भने जसले जिते पनि जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत बसेर जित्छ, त्यो हामी सबैकै जित हुन्छ। एउटा पार्टीले जितेको हुनाले हामीले हारेको भन्ने अर्थ लाग्दैन।

अझ भन्ने हो भने हामी हिजो जनयुद्ध र जनआन्दोलन हुँदै संविधानसभा सम्पन्न गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन मिहिनेत गर्नेहरूको लागि चाहिँ जसले दुईचार भोट घटीबढी ल्याए पनि त्यही संविधानकै जित, गणतन्त्रकै जित अनि महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु, सबैको प्रतिनिधित्व हुने जो सिस्टम हामीले स्थापित ग¥यौँ, त्यो सिस्टमअन्तर्गत जुनसुकै पार्टीको नामबाट आए पनि त्यही संविधानको मान्यताभित्रबाटै आएको मान्नुपर्छ । तर पनि हामीले के भनेका छौँ भने यदि यो संविधानभित्र रहेर सरकारले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, रचनात्मक र सकारात्मक राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक नै ढङ्गले हेर्छौँ । तर संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौँ ।

हामीले यो कुरा बडो प्रस्टसँग सुरुदेखि नै भन्दै आएका छौँ । अहिले विद्यार्थीहरूको हक अधिकारबारे या कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको छ, हामीले सतर्क हुन भनिराख्या छौँ अहिले । जनताले लामो सङ्घर्ष, ठूलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगरियोस् ।

अझ त्यसमाथि संविधान संशोधनका पनि कुरा चलेका छन्। संविधान संशोधनका हामी विरोधी त छैनौँ, तर त्यो संशोधन महिलाहरूको अधिकार थप्नको लागि हुनपर्यो, जनतालाई अधिकार थप्नको लागि हुनपर्यो, खोस्नलाई होइन । संघीयतालाई अझ बलियो बनाउनको लागि हुनपर्यो, त्यसलाई कमजोर पार्नको लागि होइन। त्यो हुँदा हाम्रो सकारात्मक नै भूमिका र सहयोग हुन्छ भन्ने कुरा पनि हामीले भनेका छौँ ।’

निर्वाचन परिणामले केही फरक मोड लिएपनि चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले आत्मसमीक्षासहित जनताको बीचमा जान कार्यकर्तालाई निर्देशन दिए । उनले १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =