एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुङ्ग्याउँछौँ, आफ्नै खुट्टामा उभिने आँट गरौँ: माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता नेपालले निर्वाचनको परिणाम अपेक्षा विपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गरे । पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उनले राष्ट्रिय समस्या, राजनीतिक संकट र कम्युनिष्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताए ।
नेपालको राजनीतिमा कम्युनिस्टहरूले २००७ सालदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले कम्युनिस्टहरू नै सच्चा देशभक्त भएको दाबी गरे । समाजमा व्याप्त महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीका विरुद्ध जुध्न उनले महिला संगठनलाई निर्देशन दिए ।
उनले भने ‘चुनावको परिणाम हामीले अपेक्षा गरेको भन्दा विपरीत भयो । किनभने हामीले पार्टी एकीकरणको काम पनि अझै संगठनात्मक एकीकरणको काम पनि अझै सम्पन्न गर्न पाएका छैनौँ । त्यसैले पनि अझै पनि पुरानै नाममा पनि कतिपय कामहरू भइरहेका छन् । पुरानै मानसिकता अझै हामीमा छँदैछ । एकीकरण गरिसकेपछि हामीले प्रशिक्षण दिनुपर्ने हो, त्यो पनि दिन सकेका छैनौँ । स्वाभाविक रूपमा नयाँ परिस्थितिमा कसरी अगाडि बढ्नुपर्छ त्यसको पनि हामीले त्यस हिसाबले जानकारी भनौँ, ज्ञान भनौँ, समझदारी भनौँ, त्यो हामीले विकास गर्न सकेका छैनौँ ।
अहिले हामी केन्द्रीय समन्वय समितिको संयोजक कमिटीको बैठक बसिरहेका छौँ । केन्द्रीय संयोजन कमिटी ४५ सदस्यीय छ । र त्यो कमिटीले अब सात दिनसम्म बैठक बसेर छलफलहरू गरेर आफ्ना धारणाहरू यसका सदस्यहरूले नेता कमरेडहरूले प्रस्तुत गर्नुभएको छ। उहाँले राष्ट्रिय समस्याको बारेमा, देशले भोग्नुपरेको समस्याको बारेमा, राजनीतिले भोग्नु परेको संकटको बारेमा, कम्युनिष्ट आन्दोलनले सामना गर्नुपर्ने समस्याको बारेमा, लोकतान्त्रिक आन्दोलनले सामना गर्नुपर्ने समस्याहरूको बारेमा पनि आफ्नो विचार धारणाहरू राख्नुभएको छ । ती सबै विचार धारणाहरूको हामी मन्थन गर्नेछौँ र एउटा निष्कर्षमा हामी पुग्न गइरहेका छौँ । यसै क्रममा नै बैठकको बीचमा तपाईँहरूको यो कार्यक्रम हामीले आयोजना गरिरहेका छौँ ।
तपाईँहरूलाई थाहा छ हामीले संगठनात्मक एकीकरण गर्ने सन्दर्भमा पार्टी कमिटीहरूलाई एकताबद्ध गर्नुपर्नेछ, जनवर्गीय संगठनलाई एकताबद्ध गर्नुपर्नेछ। त्यसैगरी देश९विदेशमा रहेका हाम्रा नेपालीहरूको माझमा प्रवासमा रहेका नेपालीहरूको माझमा रहेको संगठनलाई पनि एकताबद्ध गर्नुपर्नेछ । जनवर्गीय सङ्गठनहरूमध्ये विभिन्न जनवर्गीय सङ्गठनहरू ती सबैलाई पनि एकताबद्ध गर्नुपर्ने छ ।
एउटा पार्टीको एक किसिमको संरचना हुन सक्दछ अर्को पार्टीको अर्को किसिमको संरचना हुन सक्दछ । त्यस सन्दर्भमा पनि हामीले छलफल गरेर एउटा हामीले निष्कर्षमा पुग्नुपर्ने हुन्छ । यी सबै कुराको सन्दर्भमा अब नयाँ सिलसिलामा जानुपर्ने यसै क्रममा तपाईँहरूको यो नयाँ वर्ष आइपुगिसकेपछि क्यालेन्डर निकाल्ने काममा तपाईँहरू लाग्नुभएको छ र यसरी वर्षभरि आफूले गरेका कामहरूको समेत मलाई लाग्छ यी फोटाहरूमा तपाईँले त्यसको पनि विम्बहरू त्यहाँ अवश्य पनि प्रकाशित गर्नुभएको छ ।
हामीले अहिले भर्खरै सल्लाह गर्दै थियौ कि पार्टीको नाममा पनि एउटा क्यालेन्डर निकाल्दा राम्रै हुन्छ । देशभरि हामीले सन्देश सभा पनि गरेका छौँ । एकीकरण अभियान पनि सञ्चालन गरेका छौँ । यसरी हामीले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका पनि खेलेका छौँ । यस अर्थमा अब यो एकताको भावना लिएर एकीकृत पार्टीको रूपमा अगाडि बढ्ने गरी हामी तपाई सबै अगाडि बढ्नुपर्छ।
अहिले हामीले भन्ने गरेका छौ २६ वटा घटकहरू। २६ वटा घटकहरू विभिन्न तहमा हुनुहोला महिलाहरूको माझमा पनि हुनुहोला। ती सबैलाई पनि तपाईँहरूले समेट्नुपर्ने आवश्यकता पर्छ। यसको निम्ति बस्नु पनि पर्छ। जुन संरचना छैन त्यो संरचनाहरूलाई कसरी समायोजन गर्ने भन्ने बारेमा पनि उपयुक्त तहले यसको टुङ्गो लगाउनुपर्छ । यस अन्तर्गत अब हामी छिट्टै नै यो एकीकरणको संगठनात्मक एकीकरणको काम पनि सम्पन्न गर्न गइरहेका छौँ । सकेसम्म हामी यो एक हप्ता भित्र नै टुङ्गो लगाउने ढङ्गले लागेका पनि छौँ ।
जतिसुकै पढे पनि परीक्षामा फेल भयो भने के अर्थ छ ? त्यसो हुनाले हामीले मात्रै होइन एउटा सुनामी चल्यो, सुनामीको प्रभाव सबैमा परेको छ। तर सबैभन्दा खुसीको कुरा के हो भने अरू पार्टी विपक्षी पार्टीका नेताहरूले जित्न सकेनन् हाम्रो पार्टीको कमसेकम संयोजक कमरेड जित्नुभएको छ उहाँलाई धेरै धेरै बधाई। यस अर्थमा पनि राष्ट्रिय राजनीतिमा अब हामीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ।
चाहे मधेसवादी दलको कुरा गरौँ या अहिलेसम्मका अरू पार्टीहरूको कुरा गरौँ ती सबैलाई पनि राष्ट्रियताको इस्युमा होस्, लोकतन्त्रको इस्युमा होस्, संघीयताको इस्युमा होस्, गणतन्त्रको इस्युमा होस् या परिवर्तन रूपान्तरणको इस्युमा होस् साथ दिनेहरूलाई सँगसँगै समेटेर लानुपर्ने आवश्यकता पनि छ । तर सबैभन्दा पहिले हामी आफ्नो खुट्टामा उभिने आँट गर्नुपर्छ । खुट्टामा उभिने आँट गरेनौँ भने अगाडि बढ्ने र कुद्ने साहस गरेनौँ भने एकताले मात्रै केही गर्ने वाला छैन ।’
महिलाहरूले आफ्नो जिल्ला र राष्ट्रिय समस्या दुवैमा ध्यान दिनुपर्ने उनको भनाइ छ । नेता नेपालले एकताले मात्रै सबै थोक नहुने भन्दै शक्ति बढाउन र जनताको मन जित्न आफ्नै खुट्टामा उभिने आँट गर्नुपर्ने बताए ।








