उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन, रविको आश्वासनमा उम्मेदवारी दियौँ- ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको खुलासा गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा उपसभामुखमा पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो खुलाएका हुन् ।
शाहीले उपसभामुखको उम्मेदवारीले संसदमा पुराना र नयाँ भनिएका दलहरूको चरित्र उजागर गरेको दाबी गरे । उनले रास्वपाको धोकाले नयाँ र पुराना दलहरूको साइनबोर्ड मात्र फरक तर नीतिगत विचार एउटै भएको पुष्टि भएको टिप्पणी गरे । उनले उपसभामुख पदमा पार्टीको तर्फबाट दिइएको उम्मेदवारी केवल पदका लागि नभई आयातित व्यवस्था मान्नेहरू र विदेशीको गोटी बन्ने प्रवृत्ति विरुद्धको संघर्ष भएको पनि टिप्पणी पनि गरे ।
उनले भने ‘रास्वपा सभापतिबाटै आश्वासन प्राप्त भएपछि पार्टी संसदीय दलको सर्वसम्मत निर्णयबाट उपसभामुख पदमा उम्मेदवारी दिएका हौँ । आजको हाम्रो उम्मेदवारीले राजनीतिमा कित्ता क्लियर बनाएको छ । हिजोका पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक फरक भएपनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रस्ट भएको छ । यो व्यवस्थाको विकल्पमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्ने स्पष्ट कित्ता छुट्टिएको हामीले महसुस गरेका छौँ । हाम्रो उम्मेदवारी केवल एक थान उपसभामुखको लागि मात्र थिएन । यो त आयातित व्यवस्था मान्नेहरू र विदेशीको गोटी भइरहनेहरुका प्रवृत्तिका विरुद्ध थियो ।’
रास्वपा सभापति लामिछानेको ग्रीन सिग्नलपछि बिहीबार राप्रपा सांसद लामाले उपसभामुख पदमा उम्मेदवारी दिएका थिए ।








