काठमाडौँमा नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

काठमाडौँ । काठमाडौँमा नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु भएको छ ।
शुक्रवार सो सम्मेलनको शुभारम्भ गरिएको हो ।
नेपाली भाषाका समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको नेतृत्वमा सुरु भएको सो सम्मेलन ३ दिनसम्म चल्ने नई एकेडेमीका सदस्य सचिव नरेन्द्र प्रसाईँले जानकारी दिए । उनले सो सम्मेलन नेपाली साहित्यको व्याख्या, विश्लेषण गर्ने एउटा थलोको रूपमा रहने बताए ।
सदस्य सचिव प्रसाईँले भने ‘नेपाली साहित्यको जरादेखि अहिलेसम्मको अवस्थालाई व्याख्या विश्लेषण गर्ने र त्यो इतिहासलाई देखाउने एउटा स्वर्णिम क्षणमा हामी उपस्थित भएका छौँ । २०३१ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा, साहित्यमा विद्यावारिधि गर्ने श्रद्धेय महासमालोचक वासुदेव त्रिपाठी हुनुहुन्छ । र यो सम्मेलनको मुख्य एजेण्डा यसको खाका पनि नेपाल तथा भारतका विश्वविद्यालयहरूबाट विद्यावारिधि गर्ने प्राज्ञहरूको उपस्थिति हो । र त्रिभुवन विश्वविद्यालयमा रहेर प्राध्यापक हुनु भएका श्रद्धेय शिवगोपाल रिसाल, आदरणीय मित्र केशव सुवेदी लगायतका प्राध्यापकहरू पनि उपस्थिति रहेको छ । दर्जनौँ विद्यावारिधि गर्नेहरूको पनि उपस्थिति छ ।’
सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषा साहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका ६ वटा विश्वविद्यालयका दस्ताबेजहरूमाथि गहन छलफल गरिने बताइएको छ । नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने २५ जना प्रतिनिधि प्राज्ञहरूमा सम्बोधन गर्ने पनि सो एकेडेमीले जनाएको छ ।








