ओलीको प्रतिक्रिया: ‘पूर्वाग्रहपूर्ण आरोपमा १३ दिन गैरकानुनी नियन्त्रणमा राखियो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलीले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाएर आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको आरोप लगाएका छन् ।
उनले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताएका छन् । ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु’ उनले भने ।
साथै, आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल, नेताहरू तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन् ।
ओलीले परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दै प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञता प्रकट गरेका छन् । ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु’ उनले लेखेका छन् ।
उनले आफ्नो रिहाइको माग गर्ने क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन् । राज्य उदासीन भए पार्टीले नै उपचार खर्च व्यहोर्ने जानकारी पनि उनले दिएका छन् ।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उनले यस अवधिमा साथ र समर्थन जनाउने पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् । ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु’ उनले भने ।








