‘एक घर एक धारा’ कार्यक्रम कार्यान्वयन गर्न श्रम संस्कृति पार्टीको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद पूर्ण लिम्बूले सरकारले नागरिकका आधारभूत आवश्यकतालाई नजरअन्दा गर्दै डिजिटल ट्रान्सफर्मेशनजस्ता महँगो र महत्वकांक्षी योजना अघि सारेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । सरकारले दुरदराजका नागरिकको स्वच्छ पानी पिउन पाउने तथा आधारभूत स्वास्थ्य पाउनुपर्ने संवैधानिक हकलाई समेत बेवास्ता गरेको उनको आरोप छ ।

उनले संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउँदै व्यवहारमा भने त्यसको कार्यान्वयन हुन नसकेको बताए ।

उनले  ‘एक घर एक धारा’ कार्यक्रम, स्वास्थ्यचौकीसम्म पुग्ने सडक निर्माण र आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्न सरकारसँग माग समेत गरे ।

उनले भने ‘सरकारले डिजिटल ट्रान्सफर्मेशनजस्तो अति नै महँगो योजना ल्याउने प्लानिङ गर्दैगर्दा देशको दूरदराजका नागरिकका पिर मर्काहरूलाई पो सम्बोधन गर्नुपर्ने हो कि रु संविधानको धारा ३५ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनिएको छ । तर अझै पनि एक गाग्री पानीको लागि घण्टौँ कुर्नुपर्ने र हिँड्नुपर्ने अवस्था संखुवासभानस्तै देशका धेरै गाउँहरूमा यथावत् नै छ । बिरामी तथा सुत्केरी महिलाहरूलाई अझैपनि डोकोमा बोकेर जिल्ला सदरमुकाम वा रोडहेडमा पुर्याउनुपर्ने बाध्यता समेत यथावत् नै छ । ती गाउँहरूमा एक घर एक धारा, स्वास्थ्यचौकीसम्म पुग्ने बाटो बनाउनुपर्नेजस्ता अति नै आवश्यक कामहरू तत्काल सुरु गर्न माग गर्दछु ।’

सरकारले हालै डिजिटल ट्रान्सफर्मेशनको लागि भन्दै वैदेशिक ऋण स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =