महिलाहरू आफैँमा सशक्त छन्, अब सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि नेतृत्व चाहिन्छ: राजेशकाजी श्रेष्ठ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली महिलाहरू आफैँमा सक्षम र सशक्त रहेको बताएका छन् ।
नेपाल महिला चेम्बरद्वारा आयोजित ‘हीरक जयन्ती’ तथा ७५ अग्रणी महिला सम्मान समारोहलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरणको चर्चा गरिरहँदा महिलाहरूले प्राप्त गरेको सफलताले उनीहरू आफैँमा पूर्ण सक्षम रहेको प्रमाणित गरिसकेको उल्लेख गरेका हुन् ।
पूर्वअध्यक्ष श्रेष्ठले ७५ वर्षको इतिहास बोकेको चेम्बरले विभिन्न क्षेत्रमा ‘रेकर्ड ब्रेक’ गर्ने र अग्रणी भूमिका खेल्ने ७५ जना महिलाहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । आफ्नो कार्यकालमा भएका सुधारका कामहरूको चर्चा गर्दै श्रेष्ठले पहिले ‘महिला समिति’का रूपमा रहेको संरचनालाई परिमार्जन गरी ‘नेपाल महिला चेम्बर’ नामकरण गरिएको र यसलाई विधानमै व्यवस्था गरेर स्वायत्त बनाइएको जानकारी दिए ।
उनले भने ‘आज सम्मानित हुने ७५ जना अग्रणी महिलाहरूको भूमिका र उहाँहरूले गर्नुभएको सङ्घर्ष देख्दा मन हर्षित भएको छ । विशेष गरी कर्णालीका महिलाहरूको प्रतिनिधित्व र उहाँहरूको भोगाइले हामी सबैलाई भावुक बनाएको छ । महिला र युवाहरूलाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले हामीले विधान संशोधन गरेरै महिला चेम्बर र यूथ चेम्बरलाई अगाडि बढाएका हौँ ।’
महिला चेम्बरबाट उत्पादित नेतृत्व अहिले राज्यका विभिन्न निकायमा पुगेकोमा उनले खुसी व्यक्त गरे । श्रेष्ठले महिला उद्यमीहरूलाई व्यापार व्यवसायका साथै सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि सक्रिय हुन आग्रह गरे । विगतमा महिला चेम्बरले क्यान्सर सचेतना जस्ता स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण कामहरू गरेको स्मरण गर्दै उनले त्यस्ता सामाजिक कार्यहरूलाई पुनः निरन्तरता दिन अनुरोध गरे ।








