रास्वपालाई दुई तिहाइ बहुमत जुटाउन सहयोग गर्छौंः राप्रपा सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारा संविधान संशोधनमार्फत स्थापित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नागरिकता र सुशासनको विषयमा संविधान संशोधन गर्न सरकारलाई दुई तिहाइ बहुमत जुटाउन राप्रपा सहयोग गर्न तयार रहेको उनको भनाइ छ । उनले मुलुकमा सुशासन कायम गर्ने, सामाजिक न्याय र रूपान्तरणका विषयमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताए ।

उनले कृषिमा देखिएको सङ्कटप्रति चिन्ता व्यक्त गर्दै देशका किसान रोजगारीका लागि बिदेसिन बाध्य भएको अवस्था अन्त्य गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए । उनले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा काम गर्न समेत सबै दलहरूलाई आह्वान गरे ।

उनले भने ‘एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई कायम राखियोस् । संविधान संशोधन गरेर फेरी कायम गरियोस् । यदि यो सरकारलाई त्यसका लागि दुई तिहाइको आवश्यकता पर्छ त्यतिबेला हामी तपाईँको पछाडि उभिनेछौँ । ढुक्कका साथ काम गर्नुहोस् । हाम्रा किसानहरू जसले हाम्रो भूमिलाई हराभरा बनाउँछ उनीहरू आज विदेशी मजदुर भएका छन् । त्यो बाध्यताको अन्त्य गर्न हामी एकजुट हुनैपर्छ । हामी सँगसँगै जानैपर्छ । दलभन्दा ठुलो देश हो । यहाँ को ? कुन दल ? भन्ने होइन । हामी सबैले दलगत स्वार्थ त्यागेर सुशासन स्थापना र प्रजातान्त्रिक विधिको लागि एक ढिक्का हुनुपर्छ भन्ने लाग्छ ।’

उनले सुशासन स्थापना र प्रजातान्त्रिक विधिको सुदृढीकरणका लागि सबै दलहरू एक ढिक्का हुनुपर्ने आवश्यकता औँल्याउँदै देशलाई प्राथमिकतामा राखेर सहकार्य गर्न समेत आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =