अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस्: भीष्मराज आङ्देम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहास सम्झँदै अब हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस् भन्ने सङ्कल्प गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आगामी दिनमा फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने साझा प्रतिबद्धता गर्न पनि आग्रह गरे ।
राष्ट्र निर्माणको यात्रामा विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यागको स्मरण गर्दै जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्नेमा जोड दिए । उनले फरक–फरक विचार र आस्था बोके पनि सबै एउटै थलोमा उभिएको बताए ।
नेता आङ्देम्बेले दलगत भिन्नता भन्दा माथि उठेर राष्ट्रप्रति इमानदार बन्नुपर्ने उल्लेख गर्दै सबैलाई ‘इमानको पसिना बगाउने’ सङ्कल्प गर्न आग्रह गरे । उनले बितेका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताए । उनले १० वर्षे जनयुद्ध, भूकम्प, कोरोना लगायतका प्रतिकुल समयमा पनि देशमा विकास भएको दाबी गरे ।
उनले भएका कामका बारेमा जानकारी गराएर बाँकी धेरै काम गर्नुपर्ने बताए ।
उनले भने ‘हामी एकै थलोमा भएरपनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छौँ, तर भिन्न रहेपनि एउटै नाउकामा छौँ । डुबे सबै सँगै डुब्छौँ, उठे सबै सँगै उठ्छौ, दल भिन्न होला, देश एउटै हो । त्यसैले आज इमानको पसिना बगाउने सङ्कल्प गरौँ, अनि सङ्कल्प गरौँ अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् ।’
उनले संसदीय प्रणाली सबैभन्दा उत्कृष्ट प्रणाली भएको बताए । उनले संसदीय प्रणालीमाथि प्रहार गर्ने शक्तिहरू समेत हाल संसद्मा नै शालीनतामा साथ बसेको उल्लेख गरे । काँग्रेसले निरन्तरताको नवीनतामा विश्वास राख्ने बताए । उनले जेनजी विद्रोहलाई निष्कर्षमा पुर्याउन काँग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे । उनले काँग्रेस समयसँगै परिवर्तन हुन तयार रहेको उल्लेख गरे ।








