प्रतिपक्षको आवाज कमजोर हुन दिन्नौँ, बोल्दाबोल्दै माइक काट्दैनौँ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदलाई स्वस्थ बहसको थलो बनाउनुपर्नेमा जोड दिँदै प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

लोकतन्त्रको रक्षाका लागि प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । उनले प्रतिपक्षीलाई उपेक्षा गर्दा लोकतान्त्रिक व्यवस्था कमजोर हुने भन्दै जेन–जी आन्दोलनको समेत स्मरण गराए । उनले विगतमा प्रतिपक्षी दलका नेताहरूमाथि प्रतिशोध साँध्नकै लागि कानुन संशोधन र अध्यादेश नै ल्याइएको भन्दै त्यस्ता कानुनी छिद्रहरू तत्काल सच्याउने वाचा पनि गरे ।

उनले प्रतिपक्षी दलहरूमाथि अहङ्कार र प्रतिशोधको अध्याय दोहोरिन नदिने पनि स्पष्ट पारे । उनले संसद् र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकै भरमा कसैको माइक नकाट्ने पनि उल्लेख गरे ।

उनले भने ‘हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ । किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ । यो हामीले अस्ति भर्खरै देखिसक्यौँ । यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ । त्यस्ता कुरा यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । प्रतिपक्षीमाथि अहङ्कार प्रतिशोधको त्यो अध्याय दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार हुनेछन् । अब कसैका कुरा नसुनौँ भनेर कसैको माइक काटिने छैन ।’
यद्यपि सुशासनको वेग भने नरोकिने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =