‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गरेका थिए । प्रदेशसभा नियमावली २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बोजिम न्याय, प्रशासन तथा विधायन समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भनिएको प्रस्तावमा कुनै सदस्यले सहभागी जनाएनन् ।

त्यसैगरी बैठकमा ‘कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनः विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा विधेयक फिर्ता पठाइयोस् भनी आन्तरिक मामिला तथा कानुनमन्त्री पराजुलीले पेस गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले प्रस्तुत गरेको निर्णयार्थ सर्वसम्मतिले पारित भएको थियो ।

सभाको शून्य समय र विशेष समयमा कोशी प्रदेशसभाका सदस्यहरुले उठाएका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले दिएका थिए ।

उनले सरकारले आफ्नो सीमित साधन र स्रोतको बाबजुद पनि यी क्षेत्रमा इमान्दारिताकासाथ काम गरिरहेको स्पष्ट पारे । न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धित समितिको प्रतिवेदन सभामा पेस गरेका थिए ।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट मालतीकुमारी लिम्बूले सरकारले बालबालिकाको हित र अधिकारका निम्ति आवश्यक कानुन बनाउनुपर्ने जिकिर गरिन् ।

शून्य समयमा कोशी प्रदेशसभा सदस्य सुनिता गुरुङ, मैया श्रेष्ठ, सिर्जना राई, मीना श्रेष्ठ, गीतादेवी रेग्मी र तारादेवी ढकालले विविध विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन् । सभाको अर्को बैठक यही चैत २२ गते अपरान्ह १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 10 =