संसदीय दलको नेता चयन प्रक्रियामाथि योगेश भट्टराईको आपत्ति

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता चयन गर्ने प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । उनले अपनाइएको शैलीले पार्टीपंक्तिमा थप चिन्ता उत्पन्न गरेको बताएका छन् ।
बुधबार नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा चयन भएका थिए । उक्त पदका लागि निर्वाचित सांसद सुहाङ नेम्बाङले पनि आकांक्षा व्यक्त गरेका थिए । तर प्रस्तावक र समर्थकसमेत जुट्न नसक्ने अवस्था सिर्जना भएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए र थापा निर्विरोध चयन भएका थिए ।
यही घटनालाई संकेत गर्दै भट्टराईले उक्त प्रक्रियामा गम्भीर आपत्ति जनाएका हुन् । उनले वर्तमान अवस्थामा पार्टीले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै यस्तो बेला व्यापक पुनर्गठनमार्फत एकता मजबुत बनाउनुपर्ने धारणा राखेका छन् ।
“निर्वाचनबाट पार्टीलाई गंभीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएकोछ । केहि दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन,” भट्टराईले भने ।
उनले केही दिन समय लिएर पार्टी नेतृत्व र सांसदहरूबीच छलफल गरी सहमति खोज्नुपर्नेमा सांसदहरूलाई दबाबमा राखेर गरिएको निर्णय उचित नभएको टिप्पणी गरेका छन् ।








