निजी क्षेत्र उकास्न अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य आवश्यक छ: अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यले लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन् ।

कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँग मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतका वर्षहरूमा महासंघ र वैदेशिक साझेदारहरूबिचको सम्बन्धले नयाँ उचाइ लिएको बताए ।

उनले नेपालको आर्थिक विकास र निजी क्षेत्रको सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय विकास साझेदार तथा कूटनीतिक निकायको सहयोग अपरिहार्य रहेको बताए ।

अध्यक्ष ढकालले भने, “महासंघ र कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँगको सहकार्यले नेपालको निजी क्षेत्र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । नीति संवाददेखि लगानी प्रवर्द्धन र क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा तपाईंहरूको सहकार्यले हामीलाई अघि बढ्न ठूलो मद्दत गरेको छ । महासंघको नयाँ नेतृत्वले पनि कूटनीतिक तथा विकास साझेदारहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउनेछ भन्ने मेरो विश्वास छ ।”

उनले आफ्नो कार्यकालमा विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूको मार्गदर्शन, खुलापन र रचनात्मक संवादप्रति आभार व्यक्त गरे ।

आफ्नो कार्यकालमा महासंघले नीति पैरवी सशक्त बनाउने, सरकारसँगको संवाद प्रभावकारी बनाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा काम गरेको उनको भनाइ छ ।

साथै स्टार्टअप, डिजिटल अर्थतन्त्र र हरित व्यवसायजस्ता उदीयमान क्षेत्रमा पनि महासंघले ध्यान केन्द्रित गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =