ओली र लेखक पक्राउबारे काँग्रेस: भदौ २३ र २४ गतेको व्यवहार ‘सेलेक्टिभ’ (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसले जेनजी आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन अपारदर्शी र एकपक्षीय रहेको निष्कर्ष निकालेको छ ।

शनिवार नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरूका लागि आयोजित संसदीय सचेतना कार्यक्रममा पार्टीले यस्तो निष्कर्ष निकालेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

चालिसेले प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले विधिको शासन विपरीत काम गरेको टिप्पणी पनि गरे । उनले सञ्चारमाध्यमबाट सार्वजनिक भएका प्रतिवेदनका अंशहरूले भदौ २३ गतेको दमनलाई बढवा दिएको र भदौ २४ गतेको घटनालाई पूर्णतः नजरअन्दाज गरेको बताए ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले सेलेक्टिभ रूपमा प्रतिवेदन कार्यान्वयन गर्न खोजेको काँग्रेसको जिकिर गरे । हतारमा पक्राउ गर्ने तर घटनाको गहिराइमा नपुग्ने कार्यले न्याय पाउने प्रक्रियालाई झन् गिजोल्ने उनको निष्कर्ष छ ।

उनले भने ‘प्रतिवेदन जसरी बाहिर आएको छ त्यो अपारदर्शी छ । अहिलेसम्म पनि सरकारले विधिसम्मत ढंगले प्रतिवेदन सार्वजनिक गरिसकेको छैन । सञ्चारमाध्यमबाट सार्वजनिक विषयहरू हेर्दा प्रतिवेदनले भदौ २३ गतेको दमनलाई बढवा दिने र भदौ २४ गतेको घटनालाई नजरअन्दाज गरेको विषय प्रथम दृष्टिमै विधिको शासनविपरित र त्रुटिपूर्ण देखिन्छ । प्रतिवेदनमा भदौ २४ मा भएको घटनाको अनुसन्धान गर्न नभ्याएको भन्ने पनि आएको छ । त्यसो हो भने प्रतिवेदन एकपक्षीय छ र अपूर्ण छ । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदनको अध्ययन गरी अभिलेखको रूपमा राखी सार्वजनिक गर्ने निर्णय गरेकोमा चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्की आयोगले कारबाही सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने भन्ने किसिमको निर्णय गर्नु र हतारमा पक्राउ गर्नुले भदौ २३ गतेको एउटै घटनामा पनि सरकारको व्यवहार चयनात्मक भयो । सरकारको यस्तो सेलेक्टिव व्यवहार गलत छ । यसरी कानुनको विधि पालना नहुनुले अन्ततः न्याय पाउने प्रक्रियालाई झन् गिजोल्ने देखिन्छ । सरकारले जेन–जी आन्दोलनको निष्पक्ष अध्ययन गरी न्याय निरूपण गर्नुको सट्टा थप राजनीति गर्न खोजेको देखिन्छ ।’

जेन–जी आन्दोलनको जाँचबुझ प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयअनुसार प्रहरीले शनिवार बिहानै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =