हेटौडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
२०८२ चैत १४ गते

बागमती । लामो समयदेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ ।
गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए ।
क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उनले बताए । सूचना अधिकारी आचार्यले भन्छन्, “हामीसँग दुई सातालाई पुग्ने कच्चापदार्थ छ, त्यसैबाट क्लिङ्कर उत्पादन भइरहेको छ भने थप कच्चा पदार्थ व्यवस्थापन भइरहेको छ ।”
नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल क्षमता भएपनि हाल छ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ छ । विसं २०३३ सालमा हेटौडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
२०८२ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








