कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बनेपछि बुवा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाएका छन् ।

‘छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ ।’ गीताका बुवा जयरामले भने, ‘सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस ।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा समानुपातिक सांसद बनेकी गीता चौधरी समुदायबाट सङ्घीय सरकारको मन्त्री बन्ने पहिलो थारु महिला हुन् ।

शुक्लाफाँटा नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालय जोनापुरमा प्रावि तहको अध्ययन गरेकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि पिपलाडीबाट गरेकी थिइन् ।

झलारी बजारमा रहेको श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकी उनले काठमाडौँ स्कुल एफ लबाट स्नातक र स्नातकोत्तर तह नेपाल ल क्याम्पसबाट पूरा गरेकी हुन् । चौधरी कानुन व्यवसायीसमेत हुन् ।

‘सात बहिनी र एक भाइमध्येकी माहिली गीता बाल्यकालदेखि नै अध्ययन र समाजका हुने विभेद् र कुरुतिकाविरुद्ध बोल्थिन् ।’ बुवा जयरामले भने– ‘हामी निम्न आयस्रोत भएको परिवारबाट मन्त्री बनेको खबरले हर्षित छौँ ।’ साधारण लेखपढ गरेका गीताका बुवा जयरामले छोराछोरी पढाउन निकै सङ्घर्ष गरेको बताए ।

‘खेती किसानी र पछिल्लो समय सटरिङको काम गरेर घर खर्च र छोराछोरीको खर्च जुटाउँदै आएको छु’, उनले भने– ‘छोरीको मेहनत र अध्ययन सफलताले यहाँसम्मको सफलता मिलेको हो ।’

त्यसैगरी मन्त्री गीताका फूपाजु डम्बर चौधरीले अध्ययनका लागि निकै दुःख गरेको बताए । ‘पढाइका लागि ऋण गरेर भए पनि पछि नहट्ने बानी थियो’, उनले भने, ‘विवाहपछि अध्ययनसँगै र राजनीतिमा होमिएर यो स्थान बनाइन् ।’

बुटवलको सैनामैनाका सुनिल चौधरीसित विवाह गरेकी चैधरीका एक छोरी हुन् । गीताका श्रीमान् सुनिल कृषि क्याम्पसमा अध्यापन गर्छन् । विभिन्न क्लब, बाल क्लब र संस्थामा आबद्ध हुन मन पराउने चौधरी करातेको समेत खेलाडी हुन् । चौधरीले भने, ‘घरको दयनीय अवस्थाकाबीच पनि गीताले गरेको सङ्घर्ष प्रेरणादायी छ ।’

नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन् । पहिलो पटक उम्मेदवार हुँदा पनि उनले सम्मानजनक मत पाएकी थिइन् ।

केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी चौधरीलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =