देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्छ: ज्येष्ठ सदस्य केसी

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा संसदहरुको शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने भएकोले संसदलाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताएका हुन् ।

संसद सञ्चालनको लागि उच्च राजनीतिक संस्कृतिको आवश्यकता हुने उनले बताए । संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित गर्दै सभामुखले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । सभामुखको मुख्य दायित्व सांसदहरूको विशेषाधिकारको रक्षा गर्नु, संसद्को गरिमा कायम राख्नु तथा त्यहाँ हुने वादविवाद, प्रतिवाद र संवादलाई निष्पक्ष रूपमा संयोजन गर्नु भएको उनले बताए ।

उनले सभामुख संसद्को प्रवक्ता तथा संसदीय अधिकारको प्रमुख रक्षक भएको उल्लेख गर्दै पारदर्शिता, अनुशासन र मर्यादा कायम राख्नुपर्नेमा विशेष जोड दिए । सभामुखले संविधान, प्रतिनिधिसभा नियमावली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संसदीय मान्यताका आधारमा निर्णय लिनुपर्ने उनको भनाई छ । ज्येष्ठ सदस्य केसीले सभामुख कुनै एक पक्षको नभई सम्पूर्ण प्रतिनिधि सभाको साझा पद भएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर एकता कायम व्यक्ति सभामुख हुनुपर्नेमा जोड दिए । उनले आफूले बैठक सञ्चालन गर्न सभामुखको मर्यादालाई ख्या राख्ने उल्लेख गरे ।

उनले भने ‘सभामुख भनेको पद सिङ्गो सर्वोच्च जनताको सार्वभौमिकताको प्रतीक हो । सांसदहरूको विशेषाधिकारको रक्षा, संसद्को गरिमा र त्यहाँभित्र देखिने वादविवाद, प्रतिवाद र संवादका प्रक्रियालाई वैचारिक घर्षणहरुलाई संयोजन गरेर निष्पक्षतापूर्वक परिचालन गर्नु नै सभामुखको कर्तव्य हो । आउने साथीहरूले त्यहीअनुसार गर्नुहोला । कुनैपनि देशको राजनीतिक संस्कृति भनेको त्यो देशको संसदले प्रतिनिधित्व गर्छ । त्यो राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने थलो संसद्को पनि सभामुखको नाताले उसले काम गर्नुपर्छ । सभामुख संसद्को प्रवक्ता पनि हो, संसदीय अधिकारको रक्षक पनि हो । संसद्को मर्यादा कायम गर्ने अत्यन्त ठुलो दायित्व रहन्छ, मैले त एक दुई वटा बैठक चलाउने हो । तर सभामुखको दायित्व र कर्तव्य निष्पक्ष, पारदर्शी, देशको संविधान, प्रतिनिधिसभाको नियमावली, स्थापित संसदीय मान्यताहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताहरूको आधारमा कुनैपनि विषयलाई छिनोफानो गर्नको लागी सबैलाई समेटेर वृहत् एकता कायम गर्ने, अनुशासन कायम गर्ने, मर्यादा कायम गर्ने दायित्व हुन्छ । सभामुख कुनै पक्षको हुँदैन, सिङ्गो प्रतिनिधि सभाको हुन्छ, सबैको साझा हुन्छ, त्यही अनुसार नै उहाँको विधि र व्यवहार हुनुपर्छ ।’

ज्येष्ठ सदस्य केसीले बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई शपथ खुवाएका थिए । प्रतिनिधि सभामा सभामुखको चयन नभएसम्म ज्येष्ठ सदस्य केसीले सभाको बैठक सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =