प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पार्टीले अब बन्ने सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा शपथ ग्रहणपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दे उनले नयाँ बन्ने सरकारलाई प्रश्न गरेर सहयोग गर्ने बताएका हुन् ।
उनले आलोचनाले पनि सरकारलाई सहयोग हुने बताए । स्वच्छ आलोचनाले सरकारलाई सही ट्र्याकमा ल्याउने भएकोले आफूहरूले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
उनले रास्वपाले जनताको हितमा हुनेगरी संविधान संशोधनको एजेण्डा ल्याएमा दुई तिहाई पुर्याउन सहयोग गर्ने पनि बताए ।
उनले भने ‘हामी सरकारलाई प्रतिपक्षमा रहेर प्रश्न गर्छौँ, सहयोग गर्छौँ । सरकारले गर्नुपने काम जे छ, त्यसलाई प्रतिपक्षले पनि सहयोग नै गरिरहेको हुन्छ । आलोचना, विरोधबाट पनि हामी सिकिरहेका हुन्छौँ, यसले हामी कता जाँदै छौँ भन्ने कुरालाई निर्धारण गरिदिन्छ । हामी सरकारलाई देशलाई सघाउने पक्षमा नै छौँ । हामी विपक्षीमा नै रहेर सहयोग गर्छौँ । कानुन निर्माणको लागि सामान्य बहुमत भए पुग्छ, त्यो उहाँहरूसँग छ । संविधान संशोधनको लागी दुई तिहाइको आवश्यक पर्ने हो । कुन प्रायोजनको लागि उहाँहरूले प्रस्ताव लिएर आउनुहुन्छ, त्यसमा हेरेर दुई तिहाइबाट आवश्यक पर्ने बेलामा सहयोग गर्ने नगर्ने भन्ने निर्णय गर्छौँ । देश र जनताको हितमा हुने प्रस्ताव आएमा सहयोग गर्न तयार छौँ ।’
उनले जनताले आफूहरूलाई प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने म्याण्डेड दिएको बताए । आगामी पाँच वर्ष समयको सही सदुपयोग गरी काम गर्नुपर्ने उनको भनाई छ ।








