कानुन मन्त्रालयमा फाइल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले अन्य मन्त्रालयमा जाँदा आफूले कानुन मन्त्रालयमा आउने फाइलहरू अड्केर बस्ने गरेको गुनासो आएको बताएका हुन् ।
उनले कानुनी अस्पष्टता, सम्बन्धित निकायबाट आवश्यक जानकारी समयमै नआउने र आपसी समन्वय अभावका कारण काममा ढिलाइ हुने गरेको पाइएको बताए । उनले समस्या समाधानका लागि कर्मचारीहरू आफैँ सक्रिय हुनुपर्नेमा जोड दिए । आवश्यक परे सम्बन्धित मन्त्रालयका अधिकारीलाई मन्त्रालयमै बोलाएर वा स्वयं फाइल लिएर सम्बन्धित निकायमा पुगेर छलफल गर्न उनले आग्रह गरे ।
मन्त्री सिन्हाले सुशासनका लागि समयसीमा निर्धारण गरेर काम गर्न पनि आग्रह गरे । मन्त्रालयमा दर्ता भएका फाइल कति दिनभित्र टुंगो लाग्ने भन्ने स्पष्ट मापदण्ड तयार गरेर काम गर्न उनको सुझाव छ । उनले सुशासनको लागी राम्रो सिस्टम बनाउनुपर्ने र शिष्ट बनाउने काम कर्मचारीको भएको बताए ।
केही कर्मचारीका कारण सम्पूर्ण निजामती सेवामाथि नकारात्मक धारणा बनेको उल्लेख गर्दै उनले त्यसलाई चिर्न आवश्यक रहेको बताए ।
उनले भने ‘अरू मन्त्रालयमा जाँदाखेरि कानुनमा गएका कामहरूमा धेरै ढिलाइ हुने गरेको सुन्नुपर्यो, यहाँहरूसँग आएर मैले छलफल पनि गरे । कतिपय कुराहरूमा स्पष्टता नभएको कारणले तत् निकायबाट स्पष्ट पार्नको लागि जानकारी माग भएका कुराहरू नआएको कारणले र कोही आएर छलफल नगर्दैको कारणले ढिला हुने गरेको पाइयो । तपाईँहरू आफ्नै तर्फबाट अनुरोध गरे यहाँ बोलाउनुस्, होइन भने तपाईँहरू फाइल लिएर सम्बन्धित मन्त्रालयमा गएर सो सँग सम्बन्धित अधिकृतसँग छलफल गरेर टुङ्गोमा पुर्याउनुस् र कार्यतालिका बनाएर त्यसलाई समाधान गर्नुस् । मन्त्रालयमा आएको फाइललाई मन्त्रालयमा आएपछि कति दिनमा काम सकिन्छ भन्ने कुरा सुशासनको सबैभन्दा पहिलो आवश्यकता हो । हामीले सुशासनको लागी सकारात्मक वातावरण बनाउन पर्छ । हामीले वातावरण बनाएर सिस्टममा बसेर हामी काम गर्ने हो भने अगाडी बढ्छ । सिस्टम बनाउने कर्मचारीले नै हो । कर्मचारीहरूलाई गाली गरेको सुन्छु म । केही कर्मचारीको कारणले समग्र कर्मचारीमाथि आरोप लाग्ने गरेको छ । यसलाई चिर्न आवश्यक छ ।’
उनले आफूले सम्हालेका मन्त्रालयमध्ये कानुन मन्त्रालयमा सुशासन कायम रहेको पाएको बताए । आगामी दिनमा पनि सुशासन कायम राखेर काम गर्न उनले आग्रह गरे ।









