लुम्बिनी प्रादेशिक अस्पताल ‘एमएसएस’मा उत्कृष्ट

लुम्बिनी । पश्चिम नेपालको पुरानो लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट बनेको छ । अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधाका आधारमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा उत्कृष्ट बनेको हो ।

विगत दुई वर्षदेखि उत्कृष्टता हासिल गर्दै आएको अस्पतालले यसवर्ष पनि मूल्याङ्कनमा ‘सेकेण्डरी बी’ तहमा सुधार गर्दै ९० अङ्कसहित मुलुकभित्रै उत्कृष्ट सेवा दिने प्रथम अस्पताल बनेको हो । अस्पतालले गत वर्ष ८९ अङ्क प्राप्त गरेर नेपालभित्र उत्कृष्ट सेवा दिनेमा प्रथम हुन सफल भएको थियो । अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना, जनशक्तिलगायत विविध पक्षका बारेमा प्रस्तुत गरिएको थियो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनपर्ने अवस्थाको अन्त्य हुँदै गइरहेको बताए । उनले मूल्याङ्कनको अङ्कमा मात्र नभइ जनताले पनि महसुस गर्नेगरी काम गर्न सम्बद्ध सबैलाई निर्देशन दिए । उत्कृष्टता हासिल गर्नुभन्दा पनि यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताउँदै उनले थप सुधारका काममा लाग्न सबैलाई आग्रह गरे ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले सेवालाई थप विस्तार विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । उनले प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्याङ्कनमा अहिले प्राप्त नतिजा पर्याप्त नभएकाले थप सुधारका योजना बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए । उनले न्यूनतम सेवा मूल्याङ्कनका मापदण्डअनुसारका आधारभूत विषयको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै सरकारले नीति बनाउँदा कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्ने धारणा राखे ।

त्यसैगरी अस्पतालको निर्माणाधीन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिलेदेखि सञ्चालन कार्यविधि (ओएमएस) निर्माण गर्नुपर्नेमा डा ढकालले जोड दिए । अस्पतालको सेवा विस्तार कार्यक्रमअन्तर्गत एमआरआई सेवा सञ्चालन, स्त्रीरोगतर्फ ‘डेडिकेटेड अपरेसन’ कक्ष सञ्चालन, डिजिटल भुक्तानी सेवा, एसएमएसमार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा विस्तार, चौबिसैँ घण्टा बिमा सेवा, सामाजिक सेवा इकाई सञ्चालनलगायत कार्य भएका उनले जानकारी दिए ।

उत्कृष्ट व्यवस्थापनका लागि आधुनिक उपकरणसहितको सेवा, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायत काम भइरहेको उनले बताए । उनका अनुसार अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 13 =