आयोगको निष्कर्ष: ‘जेनजी आन्दोलन भड्काउन डिस्कर्ड प्लेटफर्म निर्णायक’

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको तयारी र सञ्चालनमा डिस्कर्ड प्लेटफर्म निर्णायक भूमिका खेलेको जाँचबुझ आयोगले औंल्याएको छ ।

आयोगले आन्दोलनसम्बन्धी गतिविधि, समन्वय र निर्णय प्रक्रियामा डिजिटल प्लेटफर्मको प्रयोग प्रमुख माध्यम बनेको निष्कर्ष निकालेको हो ।

आयोगले मिथ्या सूचना र घुसपैठको जोखिम शीर्षकमा छुट्टै विश्लेषण गर्दै आन्दोलनका क्रममा विभिन्न भ्रामक सूचना फैलिएको उल्लेख गरेको छ । भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो ।

जनआस्थाको सौजन्यमा मकालुखबरले प्राप्त गरेको प्रतिवेदनअनुसार होस्टलमा बलात्कार भएको र मृत्यु संख्या बढाइचढाइ गरिएको जस्ता दाबीहरू फैलाइएका थिए, जसले भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको देखिएको छ ।

आन्दोलनका क्रममा सहभागी स्वयंले पनि राजनीतिक दलका कार्यकर्ता तथा अन्य स्वार्थ समूहको घुसपैठ हुन सक्ने आशंका व्यक्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । यसले आन्दोलनको शुद्धता र दिशा प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ ।

आयोगका अनुसार आन्दोलनमा मुख्य रूपमा ‘युवा हव’ र ‘युथ अगेन्स्ट करप्सन’ नामका डिस्कर्ड सर्भरहरू प्रयोग भएका थिए । ‘युवा हव’ नामको सर्भर २२ गतेदेखि नै सक्रिय रहेको र त्यसमा विभिन्न स्थानका नाममा छुट्टाछुट्टै च्यानलहरू निर्माण गरी विभिन्न प्रयोजनका लागि प्रयोग गरिएको पाइएको छ ।

त्यस्तै ‘युथ अगेन्स्ट करप्सन’ नामक डिस्कर्ड सर्भरको प्रशासनिक जिम्मेवारी ‘हामी नेपाल’ समूहले लिएको उल्लेख आयोगको प्रतिवेदनमा छ । ती सर्भरहरूमा भएका संवादहरू पनि आयोगले आफ्नो अध्ययनमा समेटेको जनाइएको छ ।

आयोगले डिजिटल प्लेटफर्महरूको भूमिकाले आन्दोलनको संगठनात्मक संरचना र सञ्चार प्रणालीलाई प्रभाव पारेको भन्दै यस्ता माध्यममा फैलिने सूचना र गतिविधिको निगरानी तथा जिम्मेवार प्रयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =