यी हुन् जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउने इन्फ्लुएन्सर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउने कार्यमा पाँच जना सोसल मिडिया इन्फ्लुएन्सर संलग्न रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मिडिया इन्फ्लुएन्सरहरू टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने संलग्न रहेको उल्लेख छ ।

भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । जनआस्थाको सौजन्यमा मकालुखबरले प्राप्त गरेको प्रतिवेदनअनुसार विभिन्न घटनासम्बन्धी भ्रामक दाबीहरू सामाजिक सञ्जालमार्फत फैलाइएको पाइएको छ ।

२३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ वटा शवको कंकाल भेटिएको भन्दै प्रचार गरिएको र २४ गते बानेश्वरस्थित संसद भवनभित्र ३२ जना हराइरहेका प्रदर्शनकारी मृत अवस्थामा भेटिएको भनी गलत सूचना फैलाइएको आयोगले जनाएको छ । यस्ता दाबीहरू फैलाउन उपर्युक्त इन्फ्लुएन्सरहरूको संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, एक विमान परिचारिकाले हिमालयन एयरलाइन्समार्फत प्रधानमन्त्री केपी शर्मा ओली दुवई भागेको र आफूले देखेको भनी भ्रामक प्रचार गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । उक्त दाबीपछि हिमालयन एयरलाइन्सले खण्डन गर्दै औपचारिक प्रेस विज्ञप्ति नै जारी गर्नुपरेको बताइएको छ ।

प्रतिवेदनमा अर्को उदाहरणका रूपमा एउटा मिडियामार्फत नेपाली कांग्रेसका महामन्त्री गगन थापा भीडबाट घिसारिँदै पिटिएको भनी गलत प्रचार गरिएको उल्लेख छ । त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट बच्न नदीमा भागिरहेको र उनलाई व्यक्तिहरूले पिटिरहेको जस्तो दृश्य भिडियोमार्फत प्रस्तुत गरिएको भए पनि त्यो पनि भ्रामक रहेको आयोगको निष्कर्ष छ ।

आयोगले यस्ता भ्रामक सूचना फैलाउने गतिविधिले आन्दोलनको क्रममा जनमानसमा भ्रम सिर्जना गरेको र स्थिति थप जटिल बनाएको उल्लेख गर्दै तथ्यमा आधारित सूचना प्रवाहमा ध्यान दिन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =