प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण र बैठक सञ्चालनको लागि संघीय संसद सचिवालयले निर्माणाधिन संसद परिसरमा रहेको बहुउद्देश्यीय हल तयार गरेको छ ।

संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहणको लागि हल व्यवस्थापनको भौतिक कार्य सम्पन्न गरेको हो ।

प्रतिनिधि सभाको सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि बहुउद्देश्यीय हललाई नै अस्थायी संसदको बैठक सञ्चालनका लागि तयार गरिएको सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनकाअनुसार अधिकांश भौतिक पूर्वाधारका काम सकिएको र केही प्राविधिक पक्ष अझै बाँकी रहेको छ । सभाकक्षका सिटमा माइक्रोफोन जडानका काम भइरहेको र बुधवारसम्म पूरा हुने उनको भनाइ छ ।

दुई वटा सिटमा एउटा माईक्रोफोनको व्यवस्था गरिएको छ । उनले अन्य सुरक्षा व्यवस्थापनका कामहरु भने भइसकेको जानकारी दिए । उनले शपथ कार्यक्रम हुनुभन्दा केही घण्टा अघिसम्म व्यवस्थापनको कार्यहरु जारी रहने बताए ।

प्रवक्ता गिरीले हाल तयार गरिएको हलको सेटअप पूर्णरूपमा आपतकालीन प्रकृतिको भएको बताए । उनले कार्यव्यवस्था महाशाखा बहुउद्देश्यीय हलको पछाडी रहेको सानो कोठाबाट सञ्चालन हुने जानकारी दिए ।

कार्य परामर्श व्यवस्थापन समितिको हल पनि बहुउद्देश्यीय हलकै परिसरमा रहेको हलमा तयार पारिँदैछ । सभामुखका लागि हल पछाडितर्फ छुट्टै कोठाहरू व्यवस्थापन गरिएको उनले बताए ।

साथै हलको करिडोर र प्यासेजमा समेत अतिरिक्त बस्ने व्यवस्था मिलाउन लागिएको छ । उनले यहाँ व्यवस्थित सेवाहरू उपलब्ध नरहेको स्पष्ट पारे ।

उनकाअनुसार चैत १२ गते हुने शपथ कार्यक्रम यही हलमा आयोजना गरिनेछ । यसपटक २४ जना प्रतिनिधिसभा सदस्यले मातृभाषामा शपथ लिँदै छन् । शपथपछिको अतिरिक्त समयमा हललाई थप व्यवस्थित बनाउने योजना रहेको उनले बताए ।

स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधि सभाका बैठकहरू यही बहुउद्देश्यीय हलबाट सञ्चालन हुनेछन् । संसद सभाकक्षको निर्माण कार्य जारी रहेपनि कहिलेसम्म तयार हुन्छ भन्नेबारे यकिन नभएको प्रवक्ता गिरीले बताए ।

प्रतिनिधि सभाको पहिलो अधिवेशन नै बहुउद्देश्यीय हलबाट नै हुने अवस्था रहेको संसद सचिवालयको भनाइ छ । सिमित स्थानका कारण संसदको सभाकक्ष साँघुरो रहेको संसद सचिवालय बताउँछ । संसदको वेल सानो बनाइएको छ भने रोष्ट्रम, सभामुखको कुर्सी र सचिवालय बस्ने स्थान समेत साना र न्युनतम मापदण्डमा सिमित गरिएको छ । नयाँ संसद नबनेसम्म यसैमा कार्यसम्पादन गर्नुपर्ने बाध्याता रहेको उनले बताए ।

संसद सचिवालयले सरकारलाई संसद भवन निर्माण समयमा नै गर्नको लागि पटकपटक ताकेता गर्दा पनि चासो नदेखाएको उनको भनाई छ । उनले सरकारलाई निर्माणाधीन सम्पूर्ण १२ वटै भवन यथाशिघ्र सम्पन्न गरी उपलब्ध गराउन आग्रह समेत गरे ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी र तोडफोड हुँदा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बैठक सञ्चालनका लागि उपयुक्त छैन । सरकारले चैतको पहिलो साताभित्र सभाकक्ष उपलब्ध गराउने प्रतिवद्धता जनाए पनि सम्भव नभएपछि सचिवालयले बहुउद्देश्यीय हलमै संसद सञ्चालन गर्न बाध्य भएको प्रवक्ता गिरीले जानकारी दिए ।

सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद भवन निर्माण भइरहेको छ । २०७९ असोज १६ गते भित्र निर्माण गरिसक्ने गरी २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो ।

तर २०८२ फागुनसम्म आईसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । संसद भवन निर्माणको लागी पाँचौ पटक थपिएको म्याद पनि सकिइसकेको छ । संसद भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

यस्तै इन्टेरियरको जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिएको भएपनि काम पूरा हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =