रास्वपा सभापति रवि लामिछानेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालत मा सुनुवाइ जारी रहेको छ।

सोमबार न्यायाधीशद्वय विनोद शर्माअब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ अघि बढे पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता एवं सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

यसअघि लगातार चार दिनसम्म भएको सुनुवाइपछि चैत ५ गते न्यायाधीशहरू शारंगा सुवेदीसुनिलकुमार पोखरेलको इजलासले लामिछाने बाहेकका अन्य प्रतिवादीसम्बन्धी माघ २ गतेको कसुर संशोधन निर्णयको फाइल झिकाउन आदेश दिएको थियो ।

लामिछानेको हकमा भने महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते मुद्दा संशोधनसम्बन्धी निर्णय गरेकी थिइन् । त्यसको केही दिनपछि माघ २ गते सबै प्रतिवादीविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरिएको थियो, जसमा फरार अभियुक्त जिबी राईसमेत समेटिएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीको लिखित जवाफबाट उक्त तथ्य खुलेको भए पनि महान्यायाधिवक्ताको लिखित जवाफमा नदेखिएको भन्दै सर्वोच्चले सम्बन्धित आदेश र प्रमाण झिकाउन भनेको हो ।

यसैबीच, महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा तीनवटा रिट निवेदन दर्ता भएका छन् । ती रिटलाई आधार बनाउँदै कास्की र रूपन्देही जिल्ला अदालतले समेत संशोधनसम्बन्धी निवेदनमा निर्णय नगर्ने आदेश दिएका छन् ।

निवेदक युवराज सफलले महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको जिकिर गर्दै त्यसको कार्यान्वयन रोक्न माग गरेका छन् । साथै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कमजोर बनाउने प्रयास भएको भन्दै परमादेश जारी गर्नुपर्ने माग रिटमा उल्लेख छ ।

रिटमा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरिएको छ ।

यसअघि लामिछानेले आफूमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए । सो निवेदनमा राजनीतिक प्रतिशोधका आधारमा अभियोजन गरिएको दाबी गरिएको थियो ।

महान्यायाधिवक्ता भण्डारीको निर्णयअनुसार, ठगी तथा सहकारी ठगीसम्बन्धी अभियोग कायम राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग भने हटाउने गरी मुद्दा संशोधन गर्न स्वीकृति दिइएको थियो ।

यो व्यवस्था मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार गरिएको हो, जसअनुसार थप प्रमाणका आधारमा अदालतमा दायर मुद्दाको मागदाबी संशोधन गर्न सकिन्छ ।

यस प्रकरणसँगै सहकारी ठगी मुद्दामा विभिन्न अदालतहरूमा लामिछानेविरुद्ध बहुविध अभियोग दर्ता भएका छन् । उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा भएका लामिछानेले रूपन्देही जिल्ला अदालतमा करोडौं रुपैयाँ धरौटी बुझाएका थिए । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =